काठमाडौं, १४ फागुन । राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका नदेखिएको र माओवादीको पछि मात्रै लागेकाले जनतामा कांग्रेसको साख गिर्दै गएको निष्कर्ष निकाल्दै केन्द्रीय सदस्यहरुले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने पार्टी सभापति देउवालाई प्रेसर दिन हस्ताक्षर संकलन अभियान चलाएका छन् ।
पार्टी सभापति देउवाका निर्णयहरुले आमजनतामाझ पार्टी अलोकप्रिय बन्न पुगेको भन्दै तत्काल बैठक बोलाउनका लागि हस्ताक्षर अभियानमा जुटेका हुन् ।
महामन्त्री शशांक कोइरालाको महाराजगंञ्जस्थित निवासमा बसेको रामचन्द्र पौडेल समुहका कांग्रेस नेताहरुको बैठकले नेतृत्वको गलत भूमिकाका कारण पार्टी एजेण्डाहीन बनेको भन्दै देउवाको कडा आलोचना गरिएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक बसी राजनीतिक विषयमा संस्थागत निर्णय लिन दवाव दिए पनि सभापति देउवाले अटेर गर्दै आएको भन्दै अव बैठकका लागि समुहिक दवाव दिने निश्कर्ष निकालेका छन् । अव पनि बैठक नबोलाए केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरी बैठकका लागि लिखित आग्रह गर्ने त्यसपछि पनि बैठक नबोलाए आफैंले बैठक डाक्ने निश्कर्ष उनीहरुको छ ।
बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, वलबहादुर केसी, पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडू लगायत थिए ।
कांग्रेस सरकारमा सबैभन्दा ठूलो पार्टी रहे पनि कमजोर भूमिकामा रहेको, सरकारमा रहेका नेताहरुले विवादास्पद निर्णयमा सहभागिता जनाउँदै गएको, आर्थिक चलखेलका आधारमा गैर कांग्रेसलाई कांग्रेसको कोटामा राजदूत नियुक्त गरेको लगायतका विषयमा पनि देउवालाई लिखित रुपमा विरोध पत्र दिने तयारी भएको छ।
उनीहरुले युएईका लागि राजदूत नियुक्त भएकी आशा लामा, वर्माका लागि राजदूत नियुक्त भएका भीम उदास र रमेश कोइराला गैर कांग्रेस भएको र उनीहरु म्यानपावर ब्यवसायमा बदनाम भएका ब्यक्ति रहेको भन्दै उनीहरुको नियुक्ति फिर्ता लिन लिखित रुपमै दवाव दिने भएका छन् । राजदूत नियुक्तिको निर्णय फिर्ता लिन देउवालाई पौडेलले संसद भवनमा भएको भेटमै आग्रह गरेका थिए । सोही क्रममा देउवा र पौडेलको भनाभन समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्