Banner News

जनक शिक्षा ऋणमा डुब्दैः निर्वाचनको मतपत्र छाप्ने तर पाठ्यसमाग्री कहिल्यै नछाप्ने !



काठमाण्डौ,१५ फागुन । निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामाग्री केन्द्रलाई दिएको छ ।

आयोगका पदाधिकारीहरुले शुक्रबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको स्थलगत भ्रमण गरी मतपत्र छाप्ने जिम्मा दिएका हुन् । जनक शिक्षा केन्द्रले पनि वैशाख ३१ गतेभन्दा केही दिन अघि नै मतपत्र छापेर आयोगलाई उपलब्ध गराइसक्ने प्रतिवद्धता जनाएको छ ।

यस अघि समयमा नै पाठ्यसामाग्री छाप्न नसकेको केन्दलाई आयोगले मतपत्र छाप्न दिएपछि केन्द्रले समयमा नै निर्वाचनको मतपत्र छाप्ने हो कि होइन भन्ने प्रश्न उठ्न थालेको छ । समयमा नै किताव छाप्न नसेको आरोप खेपिरहेको केन्द्रले मतपत्र समयमा नै छाप्ने प्रतिबद्धता भने जनाएको छ ।

जनक शिक्षा मतपत्र छाप्न सकारात्मक देखिएपछि आयोगको टोली मेशिनको अवलोकन र लिखित प्रतिवद्धता लिन शुक्रबार भक्तपुरस्थित कार्यालयमा गएको थियो । आयोगका सचिव मैनालीले भने, ‘मतपत्र छाप्ने मेशिन काम गर्ने अवस्थामा रहेको पाइएकाले जनक शिक्षालाई मतपत्र छाप्न दिने निर्णय गरिएको हो ।

मतपत्र छाप्न आवश्यक पर्ने करिब सबै कागज समेत जनक शिक्षामा रहेको पाइएको आयोगले जनाएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले २०३६ सालमा भएको जनमत संग्रहदेखि निर्वाचनको मतपत्र छपाइ गर्दै आएको छ ।

पछिल्लो दुई दशकदेखि राजनैतिक भर्तीकेन्द्र र फितलो व्यवस्थापनको चपेटामा परेको जनक शिक्षा सामग्री केन्द्रको ऋण अहिले १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

५ वर्ष अघिसम्म १ अर्ब भन्दा कम रहेको ऋण परिमाण उल्लेख्य बढेको छ । सरकारी कागजात र विद्यालयका पुस्तक छापेर मुनाफा आर्जन गर्ने उद्देश्यका साथ छ दशकअघि स्थापना गरिएको जनक शिक्षा तिर्नै नसक्ने ऋणमा डुबेको अधिकारीहरू बताउँछन् ।

केन्द्रले हाल राष्ट्रिय बाणिज्य बैंक, बैंक अफ काठमान्डू लुम्बिनी, नागरिक लगानी कोष र सरकारको ऋण तिर्न नसक्ने भएपनि ब्याज तिरिरहेको छ । यसमध्ये पनि केन्द्रलाई सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको ५५ करोड रुपैयाको ऋणभार छ ।

यसरी नै नागरिक लगानी कोषको २९ करोड र बैंक अफ काठमान्डू लुम्बिनीको ९ करोड रुपैया रहेको छ ।