राजनीति

अनेरास्ववियुको देशभर विजयको सुरुवात देखेर नेविसंघ तालाबन्दीको अभियानमा लागेको होः नवीना



भक्तपुर, १७ फागुन– अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले क्याम्पसमा तालाबन्दी लगाएर चुनाव बिथोल्न नेविसंघका नेता तथा कार्यकर्ता सक्रिय रहेको वताएकी छिन् । रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लामाले नेविसंघ निर्वाचन भाँड्ने षड्यन्त्रमा लाग्दा निर्वाचन प्रभावित हुने खतरा आएको बताइन् ।

नेविसंघको अराजनीतिक र अलोकतान्त्रिक चरित्रका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रभावित हुने खतरा बढिरहेको उनको भनाइ छ । अध्यक्ष लामाले नेविसंघको गुण्डागर्दी र अलोकतान्त्रिक शैलीका कारण निर्वाचनमा समस्या आएको बताइन् ।

उनले स्ववियु निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउँदै १८ गतेको निर्वाचन कसैले चाहेर पनि नरोकिने बताइन् । नेविसंघले पराजय स्वीकार्न नसक्दा क्याम्पसमा तालाबन्दीमा उत्रिएको बताउँदै आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन सफल बनाउन सबै विद्यार्थी संगठनलाई आग्रह समेत गरिन् । उनले देशभर आफूहरुको विजयको सुरुवात भएपछि नेविसंघ तालाबन्दीमा उत्रिएको बताइन् ।

सानोठिमी क्याम्पसमा सोमबार राती भएको क्याम्पस प्रमुखको कार्यकक्षमा भएको आगजानी अखिल र विप्लवले लगाएको भन्ने झुठो आरोप रहेको वताइन् ।