सम्पादकीय

आजदेखि उपत्यकाको मौसममा सुधार आउने



काठमाडौं, २९ फागुन ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि–मनसुनको गतिविधि सुरु भएको जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले शुक्रबारदेखि भइरहेको वर्षा प्रि–मनसुनकै संकेत भएको बताए ।

‘मार्चदेखि तीन महिना प्रि–मनसुनी गतिविधि हुने समय हो,’ सुवेदीले कान्तिपुरलाई भने, ‘अहिलेको वर्षा त्यही संकेत हो ।’ मार्चदेखि मेसम्मको अवधिमा प्रि–मनसुनी गतिविधि हुन्छ ।

प्रि–मनसुनको अवधिमा स्थानीयस्तरमा उत्पन्न भएको मौसमी गतिविधिले पनि सानो क्षेत्रमा वर्षा र हावाहुरी, चट्याङ र गड्याङगुडुङ हुन्छ । ‘केही दिन मौसम सफाजस्तो देखिए पनि क्षणभरमै मौसममा गडबडी हुन्छ,’ सुवेदीले भने, ‘हल्का वर्षा हुन्छ र क्षणभरमै सफा भइहाल्छ ।’

पश्चिम वायु, अरेबियाली सागरबाट आएको जलवाष्पयुक्त वायु र भारतको उत्तर प्रदेशरछत्तिसगढबाट एकैपटक उत्पन्न भएको मौसमी प्रक्रियाका कारण शुक्रबारदेखि देशैभर वर्षा भएको थियो । महाशाखाका मौसमविद् राजुधर प्रधानांगले शनिबारदेखि पानी पार्ने मौसमी प्रणाली पूर्वी भागतिर सर्दै गएकाले आइतबार मौसममा सुधार आउने बताए ।

मौसमविद् सुवेदीले ‘शनिबारदेखि नै मौसममा सुधार आइरहे पनि आइतबार उच्च पहाडी र हिमाली भागमा भने वर्षा हुन सक्ने’ बताए । शनिबार राति पनि मध्य र पूर्वी भागमा वर्षा हुने महाशाखाको अनुमान छ । शुक्रबार र शनिबार मुलुकका अधिकांश भागमा वर्षा भएको महाशाखाको रेकर्ड छ । सबभन्दा बढी वर्षा काठमाडौंमा भएको छ । कान्तिपुरमा समाचार छ ।