Banner News

प्रमुख निर्वाचन आयुक्तले भने –चुनाव कुनै पनि हालतमा रोकिदैन



 

काठमाडौं,३० फागुन । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन–कानून प्राप्त भएकोले चुनाव कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरि आयोगले आफ्नो कामलाई तिव्रता दिईरहेको बताए ।

चुनावका लागि वातावरण बनाउन सबै राजनीतिक दलहरुलेपनि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

उनले निर्वाचनको सुनिश्चितताका लागि राजनीतिक दलहरुभित्रै सहमति हुनुपर्नेमा जोड दिए । उनले भने,‘दलहरुबीच देखिएका सबै खाले बिमति र असन्तुष्टिहरुलाई सहमतिमा परिणत गर्नुपर्छ, यसका लागि सरकार र प्रमुख दलहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुने भएकाले यसलाई सबैले उत्सबको रुपमा लिनुपर्ने यादवको भनाई थियो । उनले मधेसी मोर्चाले ०६४ सालामा पनि चुनावमा भाग नलिने निर्णय गरेको भएपनि चुनावमा आएको उल्लेख गर्दै भने,‘यसपटक पनि उहाँहरुले स्थानीय तहको निर्वाचनमा भाग लिनुहुन्छ ।’

आयोगले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुर्याएको, मतदाता केन्द्र पूनवरावलोकन भइरहेको, मतपत्र व्यवस्थापन९छपाई०को काम भइरहेको जानकारी दिए ।

उनले भने,‘मतपत्र छाप्ने काम सुरु भएको छ, आयोगले प्राविधिक कामहरु तिव्रताका साथ अघि बढाएको छ ।’

यादवले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम भइरहेको जानकारी दिए । उनले भने,‘जनशक्ति व्यवस्थापनको काम भइरहेको छ, यसका लागि हामीले सरकारलाई चैत्र ३ गतेभित्रै कर्मचारी खटन–पटन गर्न निर्देशन दिईसकेका छौं ।’

आयोगभित्रै पनि आन्तरिक कर्मचारी व्यवस्थापन भइरहेको स्पष्ट पारे । उनले भने,‘कर्मचारी खटनपटन भएपछि चुनावको वातावरण बन्छ, गाउपालिका र नगरपालिकाको मतदान केन्द्र राख्नेबारेमा पनि अन्तिम चरणमा पुगेका छौं ।’

यादवले अघि थपे,‘आयोगभित्रैपनि कर्मचारी लगनशील छन्, उहाँहरु पनि दिनरात निर्वाचनको लागि वातावरण बनाउनुपर्छ ।’

स्थानीय तहको प्रतिवेदन अनुसार सात सय ४४ युनिटमै एकैदिनमा निर्वाचन गर्नुपर्ने भएकाले यसका लागि सरकारले आफ्नो दायित्व र कर्तव्यको रुपमा मधेसमा पनि चुनाव गराउनुपर्छ । उनले भने,‘एक दिनमै निर्वाचन गराउनु पर्ने भएकाले यसका लागि सरकारले प्रयास गर्नुपर्छ ।’

मतपत्र छपाई कहिलेसम्म सकिन्छ भन्ने जिज्ञासमा यादवले भने,‘चैत्र ५ गतेभन्दा अघि नै छपाउने गरि तयारी भइरहेको छ ।’