Banner News

उपप्रधानमन्त्री थापाले भने–संविधान संशोधन प्रस्ताव निर्णायर्थ पेश भए,विपक्षमा मतदान गर्ने



काठमाडौं,३० फागुन । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरे सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनैपनि द्धिविधा र अस्पष्ट नरहेको बताउँदै भने, ‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको विपक्षमा छ, यसको विपक्षमा मतदान गर्छ, तपाईहरु ढुक्क हुनुहोस्, अझ यो प्रस्तावलाई पारित गराउनको लागि सरकारले सदनमा निर्णायर्थ पेश गर्यो भने हामी त्यतिखेर सरकारबाट बाहिरिएर, सबै मन्त्रीहरुले राजिनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं ।’

राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनैपनि परिवर्तन नभएको जिकिर गर्दै भने,‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिलेपनि त्यही रहेको बताए । उनले भने, ‘म सरकारमा सहभागी हुँदैमा हाम्रो पार्टीको नीतिमा कुनैपनि परिवर्तन भएको छैन, अहिले संसदमा रहेको संविधान संशोधन प्रस्ताव पारित हुनुहुँदैन भन्ने पक्षमा हामी छौं ।’

मन्त्री थापाले मधेस केन्द्रित दलहरुको माग पूरा गर्नका लागि आफू मन्त्री भएको दिनदेखि नै वार्ता तथा छलफललाई अघि बढाईसकेको जानकारी दिँदै भने,‘म मन्त्री भएको दुई दिन भयो, तर मैले मन्त्री भएकै दिनदेखि मधेस केन्द्रित दलहरुको माग पूरा गर्नका लागि विशेष तयारी गरिसकेको छु, उहाँहरुसँगको छलफल तथा वार्तालाई तिव्रता दिएको छु, वार्ता भनेको गोप्य हुनुपर्छ, कसैलाई क्यामेरामा देखाएर बोल्ने कुरा होईन, आज वार्ता सफल हुन नसक्नुको कारण नै पब्लिसिटी गर्ने चलन भएकोले हो ।’
बैठकमा भएका कुराहरुलाईपनि बाहिर ल्याउने र छताछुल्ल पार्ने काम भएको छ, यसले वातावरण बनाउनुको सट्टा बिगारेको उनको भनाई छ ।

उनले आफूहरु चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमा सहभागी भएको स्पष्ट पारे । मन्त्री थापाले भने,‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री भएदेखि नै हामीलाई सरकारमा आउन आग्रह गर्नुभएको थियो, तर हामीले अहिले आवश्यक छैन भनेर भनेको थियौं, तर एकता महाधिवेश सम्पन्न भएलगत्तैपनि मलाई उहाँले सरकारमा सहभागीताको लागि आग्रह गर्नुभएकै हो, अहिले सरकारको स्थायित्वमाथि गम्भिर प्रश्न चिन्ह खडा भएकोले र चुनावको सुनिश्चितता र संविधान कार्यान्वयनको लागि हामी सरकारमा सहभागी भएका हौं ।’

सरकारले निर्वाचनको मिति घोषणा गरेदेखि नै आफ्नो पार्टीले स्वागत गरेको उल्लेख गर्दै थापाले भने,‘निर्वाचनलाई सफल बनाउनको लागि हाम्रो पार्टीले चुनावको सबैभन्दा पहिले स्वागत गरेको हो, सरकारको स्थायित्वको बारेमा प्रश्न चिन्ह खडा हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाबाट शीर्ष नेताहरुबाटै सरकारमा आउनुपर्यो भनेर फेरि आग्रह गर्नुभएकोले हामी सरकारमा सहभागी भएका हौं ।’ उनले निर्धारित समयभित्रै चुनाव गर्ने शर्त र आधारमा आफूहरु सरकारमा सहभागी भएको पटक–पटक जिकिर गरे ।

थापाले अब बैशाख ३१ गते नै निर्वाचन हुनेमा कसैले पनि कुनै शंका तथा उपशंका गर्न नहुने बताए । उनले भने,‘निर्वाचन सम्पन्न गर्नको लागि युद्धस्तरमा काम भैरहेको छ, निर्वाचन आयोगलाई सबै सामाग्री जुटाईदिन्छौं ।’