बेइजिङ । ट्रम्प प्रशासनले विश्व व्यापार संगठन डब्लूटीओको आदेशलाई बेवास्ता गरे र आफ्नो सामानमा भन्सार लगाए अमेरिकासँग व्यापारयुद्ध हुने चेतावनी चीनले दिएको छ ।
“यदि कुनै पनि सदस्यले आफ्नो स्वार्थका लागि संगठनको आदेशको बेवास्ता गरे बहुपक्षीय व्यापार संयन्त्र अर्थहीन हुने र सन् १९३० को दशकको जस्तै व्यापारयुद्ध हुनेछ,” चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता सुन जीबीईले भने । विश्वव्यापी व्यापारिक निकायलाई वासिङ्टनले बेवास्ता गरे यसको प्रतिक्रिया जनाउने उनले बताए ।
नयाँ अमेरिकी सरकारले कंग्रेसमा पठाएको वार्षिक व्यापार नीति एजेन्डाका बारेमा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । अमेरिका विश्व व्यापार संगठनको निर्णय मान्न बाध्य नहुने पनि उनले बताए ।
नयाँ अमेरिकी नीतिले अमेरिकाको आफ्नै व्यापारिक नीतिलाई पनि कडाइका साथ उठान गरेको छ । यसमा अमेरिकी निकायले एकपक्षीय रूपमा भन्सार लगाउन सक्ने ग्लोबल टाइम्सले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अभियानदेखि नै चीनविरुद्ध कडा कदम उठाउन सक्ने बताउँदै आएका छन् । उनले चीनले आफ्ना निर्यातकर्ताको लाभका लागि बेइजिङले पक्षपातपूर्ण तरिकाबाट आफ्नो मुद्राको अवमूल्यन गर्दै आएको छ । ट्रम्पले चिनियाँ सामग्रीमा ४५ प्रतिशतको भन्सार लगाउने बताउँदै आएका छन् ।
चीन र अमेरिका एक–अर्काप्रति अन्तरनिर्भर रहँदै आएको चीनका वाणिज्य मन्त्री झोङ सानले बताए । यी दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धले दुई मुलुक मात्रै प्रभावित नभई विश्व नै प्रभावित हुने भनाइ उनको थियो ।
“कतिपय अमेरिकी र पश्चिमा मुलुकका मित्रहरूले चीन अमेरिकामा निर्भर रहँदै आएको बताएका छन् । उनीहरू आंशिक रूपमा सही भएको मलाई लाग्छ । तर, अमेरिका पनि चीनमाथि निर्भर रहँदै आएको छ,” झोङले भने ।
“कुनै पनि सदस्यले डब्लूटीओको आदेशको बेवास्ता गरे बहुपक्षीय व्यापार संयन्त्र औचित्यहीन हुने र सन् १९३० को दशकको जस्तै व्यापारयुद्ध हुनेछ ।”
“अमेरिकीहरू प्रत्यक्ष रूपमा डब्लूटीओको निर्णयको भागिदार हुनेछैनन् । व्यापार नीतिको मामिलामा अमेरिकीले राष्ट्रिय सम्प्रभुताको प्रतिरक्षा गर्नेछन् र अन्य मुलुकलाई पनि उनीहरूको बजारमा अमेरिकी सामान र सेवाको प्रवद्र्धनका लागि प्रोत्साहित गर्न सक्छन्,” अमेरिकी दस्तावेजमा भनिएको छ ।
बोइङको विमान अर्डरको २६ प्रतिशतले ओगट्दै आएको झोङले बताए । चीनले अमेरिकाबाट निर्यात हुने ५६ प्रतिशत भटमास, १६ प्रतिशत अटोमोबाइल निर्यात र १५ प्रतिशत एकीकृत सक्र्युट निर्यातको हिस्सा ओगट्दै आएको उनले बताए ।
गत वर्ष अमेरिका–चीनबीचको व्यापारको आकार ५१९।६ अर्ब डलर पुगेको थियो । यो परिमाण १९७९ को तुलनामा २ सय ७ प्रतिशतले बढी हो । उक्त समयमा अमेरिका–चीनबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्