सम्पादकीय

एसएसबीद्वारा नेपाली हत्या प्रकरणःनेपाल प्रहरीको पेस्तोल हराएको दाबी



धनगढी, ३ चैत । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली भूमिमा मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट भारत सरकारले मागिरहेकै बेला नेपाल प्रहरीले अर्को एउटा रहस्योद्घाटन गरेको छ ।

कञ्चनपुर पुनर्वासको आनन्द बजारमा बिहीबार भएको झडपमा नेपाल प्रहरीका असईको पेस्तोल हराएको दाबी घटना भएको सात दिनपछि नेपाल प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार हराएको पेस्तोल अझै फेला परेको छैन । गत बिहीबार कञ्चनपुर पुनर्वासस्थित नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक गौतमलाई गोली प्रहार गर्दा भएको हुलदंगामा प्रहरी सहायक निरीक्षक माधव भट्टको पेस्तोल हराएको प्रहरीले दाबी गरेको छ ।

एक साताअघि भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गौतमको निधन भएपछि नेपाल सरकारले उनलाई सहिद घोषणा गरेको छ भने उनको हत्या आफ्ना सुरक्षाकर्मीबाट भएकोमा भारतीय प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् ।

प्रहरी सहायक निरीक्षक भट्टको चाइनिज पेस्तोल दोहोरो झडपका क्रममा हराएको सुदूरपश्चिम क्षेत्रका डीआईजी रोमिन्द्र देउजाले बताए । पेस्तोलमा ७ राउन्ड गोली भरिएको म्यागेजिन लोडेड रहेको डीआईजी देउजाको भनाइ छ । ‘हुलदंगाका क्रममा असई भट्टको पेस्तोल हराएको छ, त्यसमा सात राउन्ड लोडेड म्यागेजिन थियो, त्यसको खोजबिन भइरहेको छ, डीआईजी देउजाले भने । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा दरबन्दी भई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा कार्यरत भट्टको पेस्तोल झडपका क्रममा हराएको दाबी गरिएको हो । क्षेत्रीय प्रहरी कार्यालय दिपायलले पेस्तोल हराएको भन्दै असई भट्टमाथि अनुसन्धान सुरु गरेको छ ।

घटनाको दिन भारतीय सुरक्षाकर्मीले सात राउन्ड फायर गरेको थियो जसमध्ये एक गोली नेपाली नागरिक गोविन्द गौतमलाई लागेको थियो । घटना भएको भोलिपल्ट भारतको लखिमपुर जिल्लाका जिल्लाधिकारी आकाश द्वीपले गौरीफन्टामा नेपाली मिडियालाई प्रतिक्रिया दिँदै घटनामा भारतीय प्रहरीले फायर नखोलेको तर नेपाल प्रहरीको हतियार ‘मिसिङु भएको बताएका थिए । उनले नेपाल प्रहरीले गोली चलाएको दाबी गरेका थिए । अन्नपूर्ण पोष्टमा समाचार छ ।