काठमाडौं, ८ चैत । भारतीय संस्थापनमा हिन्दुहरूको बाहुल्य हुन थालेपछि नेपालमा पनि भर्खरै हटाइएको हिन्दु राज्यको ट्याग भिराउनका लागि राजनीतिक रूपमा नै अभियान सुरु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसका लागि अभियान, प्रदर्शनमात्र होइन, संविधानमा संशोधनको पनि माग गर्न थालिसकेको छ ।
नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा उसले दर्ता गराएको छ । सरकारमा राप्रपा अध्यक्ष कमल थापासहित तीन मन्त्री छन् । राप्रपाका ६ सांसदले आइतबार संसद् सचिवालयमा हिन्दु राष्ट्रको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
राप्रपाको संशोधन प्रस्तावमा संविधानको धारा ४ को उपधारा १ मा रहेको ’धर्म निरपेक्ष’ शब्द हटाएर ‘हिन्दु राष्ट्र’ राख्न माग गरिएको छ । संविधानको धारा ४ मा ‘नेपाल राज्य’ को उपधारा (१) मा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ उल्लेख छ ।
धर्म निरपेक्ष शब्दको अर्थ खुलाउँदै संविधानमा स्पष्टिकरण समेत राखिएको छ । जसमा ‘यस धाराको प्रयोजनका लागि ’धर्म निरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ’, भनिएको छ ।
संविधान निर्माणदेखि कार्यान्वयन चरणसम्म आइपुग्दा मौन रहेको राप्रपा निर्वाचन आयोगसँगको ‘द्वन्द्व’ पछि भने संविधान संशोधन प्रस्ताव बोकेर संसद् सचिवालय पुगेको हो । राप्रपाले संशोधनमा धर्म निरपेक्ष शब्द हटाएर ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने वाक्यांश राख्न माग गरेको छ । जनप्रहार साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्