सम्पादकीय

चीन चाँडै चुनाव चाहन्छ: मन्त्री महत



काठमाडौं, १६ चैत । साताव्यापी चीन भ्रमण सक्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बत आइपुगेका छन् । चीनको हाइनानमा आयोजित बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागितापछि प्रधानमन्त्री प्रचण्ड शनिबार बेइजिङ पुगेका थिए । प्रचण्डले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा उपप्रधानमन्त्रीद्वय झाङ गाओली र वाङ याङसहित चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावसँग बेग्लाबेग्लै भेट गरे । प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग चीन भ्रमणबारे  अन्तर्वार्ता :

१. प्रधानमन्त्रीको चीन भ्रमण कस्तो हुँदैछ ?

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हामी आजै मात्र तिब्बतको ल्हासा आइपुगेका छौं । भ्रमणमा चीनसँग कुनै नयाँ सन्धिसम्झौता नहुने हामीले भ्रमणअघि नै भनिसकेका थियौं । सोहीअनुसार भ्रमणमा कुनै नयाँ महत्वपूर्ण सन्धिसमझदारी भएनन् ।

तर यो भ्रमणमा चिनियाँ नेतृत्वको उच्च तहसँग भएका भेट र छलफलले दुई देशको सम्बन्ध अझै प्रगाढ बनाउन महत्वपूर्ण बनेको छ । भ्रमणमा भएका भेटवार्ता र छलफलले नेपाल- चीन द्विपक्षीय सम्बन्ध अझ बढी विश्वासिलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास हामीले राखेका छौं ।

२ चीनियाँ उच्च नेतृत्वसँग मूलत: के विषयमा कुराकानी भए ?

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति तथा दुईजना उपप्रधानमन्त्रीसँग भएका छलफल खासगरी चीन- नेपालबीच पूर्ववर्ती सरकारका पालामा हस्ताक्षरित पारवहनलगायत सहमति(सम्झौता कसरी कार्यान्वयन गर्ने भन्नेबारे छलफल भए । हामीले ती सहमति र सम्झौता अक्षरश: पालना गर्न तयार रहेको प्रतिबद्धता जनायौं ।

चीनले नेपालसमक्ष प्रस्ताव गरेको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपाल सहभागी हुने विषयमा चिनियाँ नेतृत्वसँग छलफल भयो । प्रधानमन्त्रीले नेपाल ओबीओआर अवधारणामा चाँडै सदस्य बन्ने प्रतिबद्धता जनाए । ओबीओआर अवधारणामा सहभागी भएर नेपाल लाभ चाहन्छ भन्ने कुरा हामीले राख्यौं ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दाहालले सोही भेटमा ओबीओआर अवधारणामा नेपालको सहभागिता सुनिश्चितताका लागि थप छलफल गर्न सम्बन्धित सरकारी अधिकारीलाई निर्देशनसमेत दिए । नेपालको चीनसँगको व्यापारघाटा कम गर्न नेपाली उत्पादनलाई चिनियाँ बजारमा शून्य भन्सार सुविधा उपलब्ध गराइदिन हामीले आग्रह गर्यौं ।

३‍‍ ‍‍‍अासन्न स्थानीय निर्वाचन र संविधान कार्यान्वयनबारे चीनको चासो कस्तो छ ?

चिनियाँ राष्ट्रपतिसँगको भेटमा उहाँले नेपालको शान्ति, स्थायित्व र आर्थिक -सामाजिक विकासमा चीनको सहयोग जारी रहने बताए । आपसी विश्वास बलियो पार्दै जानुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्रीले स्थानीय चुनाव घोषणा गरिसकेको अवगत गराउँदै संविधान कार्यान्वयनमा चीन, भारतलगायत छिमेकी राष्ट्रको सहयोग महत्वपूर्ण हुने बताए । चीनले नेपालमा स्थानीय तह चुनाव चाँडै होस् भन्ने चाहेको हामीले पायौं ।

चिनियाँ राष्ट्रपतिले स्थानीय चुनावका लागि लजिस्टिक सहयोगस्वरूप ९ मिलियन युआन सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । अन्नपूर्ण पोस्टमा समाचार छ ।