काठमाडौं, १८ चैत । साउदी अरबमा अवैध रूपमा बस्दै आएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले तीन महिने शिविर सञ्चालन गर्ने भएको छ । साउदी सरकारले बुधबारदेखि लागू हुने गरी सुरु गरेको अवैध रूपमा साउदीमा बसेका विदेशी कामदारका लागि आम माफी दिने कार्यक्रममार्फत त्यहाँ अवैध रूपमा रहेका नेपालीलाई स्वदेश फर्काउने गरी सरकारले कार्यक्रम तय गरेको हो ।
साउदी सरकारले १ मार्चमा आम माफीको योजना सार्वजनिक गर्दै अवैध रूपमा बसेका विदेशी कामदारलाई स्वदेश फिर्ता हुने मौका दिने जनाएको थियो । साउदी सरकारले घोषणा गरेको यस अवसरलाई अधिकतम नेपालीले सदुपयोग गरून् भन्दै नेपाल सरकारले साउदी अरबमा तीन महिनाका लागि शिविर सञ्चालन गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
त्यसका लागि नेपालले सरोकार राख्ने सबै संयन्त्रलाई परिचालन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र सल्लाहकार डा। ऋषिराज अधिकारीले जानकारी दिए ।
वैदेशिक रोजगार विभागका अनुसार हाल साउदी अरबमा १० लाख नेपाली श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । बाँकी करिब १ लाख कामदार अवैध रूपमा साउदीमा रहेको अनुमान विभागको छ । साउदी अरबमा नेपाली पुरुषभन्दा बढी महिलाहरू अवैध रूपमा पुगेका छन् ।
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको संसदीय टोली हालै मात्र खाडी मुलुकको भ्रमण गरेर फर्किएको छ । त्यहाँ पुगेका नेपाली महिलामध्ये ६० प्रतिशत अवैध बाटोबाट त्यहाँ पुगेका छन् । उनीहरू विभिन्न दलालहरूको सहायता, विमानस्थल र अध्यागमनका कर्मचारीको सहयोगमा अवैध रूपमा खाडी पुगेको समितिका सभापति प्रभु साह बताउँछन् ।
‘कोही दिल्लीबाट, कोही श्रीलंकाबाट उडे पनि अधिकांश काठमाडौंबाटै विनारोकटोक टुरिस्ट भिसामा गएको र त्यहाँ घरेलु कामदारका रूपमा बेचिएको सुन्दा आश्चर्यमा परेको छु,’ सभापति साहले भने, ‘धेरै महिला कामदार हाउसमेडमा अवैध ढंगबाट पुगेका रहेछन् ।’
साउदीमा पनि पुरुषभन्दा बढी नेपाली महिला अवैध रूपमा बस्दै आएको वैदेशिक रोजगार विभागको अनुमान छ । गैरआवासीय नेपाली संघ साउदी अरेबियाका प्रतिनिधि धर्म केसीको भनाइअनुसार अवैध रूपमा बसेका महिलाको संख्या मात्रै ६० हजार हाराहारीमा रहेको छ ।
संसदीय समितिको अनुगमन टोलीमै रहेका श्रम मन्त्रालयका उपसचिव झलक शर्मा सापकोटाका अनुसार नेपाली महिलाहरू दलालको सेटिङमार्फत विभिन्न देश हुँदै साउदीसम्म पुग्ने गरेका छन् । ‘
सेटिङमा महिलालाई कुबेतबाट गाडीको डिकीमा राखेर साउदी पु(याउने गरिँदो रहेछ । यसरी साउदी पुग्नेबित्तिकै कामदार अवैधानिक हुन्छन् । ‘कामदार महिलालाई आफू कहाँ छु भन्ने समेत जानकारी हुँदैन,’ अनुमगनबाट फर्किएका उनले भने, ‘तथ्यांकमा कुबेत गएको देखिन्छ, तर त्यहाँबाट उनीहरू बेचिएर साउदी पुग्छन् र साउदीमा उनीहरूको तथ्यांक हुँदैन । यस्तो अवस्थामा उनीहरूलाई खोजी गर्नसमेत नसकिने अवस्था छ ।’राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्