काठमाडौंः १९ चैत । राजधानीका सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको तेस्रो दिन सम्ममा ५२ लाख बराबरको कारोबार भएको छ ।
पहिलो दिन नौ लाख १६ हजार, दोस्रो दिन १६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो भने तेस्रोदिन २५ लाख ७१ हजार रुपैयाँ बढीको कारोबार भइसकेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।
१२ हजार पाँच सय, दोस्रो दिन १४ हजार नौ सय ५० र तेस्रो दिन १२ हजार ६ सय बढी अबलोकनकर्ता प्रदर्शनीमा अबलोकन गरेको मेला संयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए ।
मेलाको अन्तिम दिन आइतबारसम्म ७५ लाख रुपैयाँ बढीको कारोबार हुने अनुमान फ्यानले गरेको छ । मेलामा एकै जना उपभोक्ताले ५० हजार रुपैयाँ बढीका फूल तथा बोटबिरुवा खरिद गरेको एस आर नर्सरीका संचालक तथा फ्यान कार्यसमिती सदस्य सुनिल स्याङतानले बताए ।
उनले १२ महिनै फूल्ने एजेलिया, सुन्तला, मुन्तला र अम्बाका बिरुवाहरु आफ्नो स्टलबाट बढी कारोबार भइरहेको बताए । आफूले ब्यापारका लागि नभएर प्रचार प्रशारलाइ लक्षित गरि स्टल सजावट गरेको बताउँदै अजिमा नर्सरीका संचालक कुमार कार्कीले आफ्नो स्टलमा फोटो खिच्नेहरुको घुँइचो लागिरहेको बताए । उनले हरेक बर्ष आफ्नो स्टललाई सर्बसाधारणले मन पराउने गरेको समेत बताए ।
यसैगरि शिष्टता नर्सरीका संचालक राजकृष्ण बजगाँइले सयपत्री, साइकलमेन, क्याल्सेरिया, कृष्णकली लगायतका अन्य बोट बिरुवाको कारोबार राम्रो भएको बताउँदै गएका बर्षहरुमा भन्दा राम्रो कारोबार भइरहेको बताए ।
गएका बर्षहरुमा जस्तै मेलाको अन्तिम दिन अबलोकनकर्ताको उल्लेख्य सहभागिता हुने र कारोबार पनि राम्रो हुने अनुमान फ्यानले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्