राजनीति

काभ्रेमा मतदाता शिक्षा प्रशिक्षण सुरु



धुलिखेल, २२ चैत । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको स्थानीय तह निर्वाचन विसं २०७४ का लागि निर्वाचन शिक्षा कार्यकर्ता एवम् मतदाता शिक्षा स्वयम्सेवक प्रशिक्षण आजदेखि सुरु गरिएको छ ।

आम मतदातालाई निर्वाचनको आवश्यकता, महत्व एवम् मतदानसम्बन्धी जानकारी दिने उद्देश्यले सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कार्यक्रम व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका शिवप्रसाद सिंखडाले आजदेखि मतदाता शिक्षाको कार्यक्रम औपचारिक रुपमा सुरु भएको बताउनुभयो ।

तपाईहरु अब निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक हुनुभयो, यस्तो जिम्मेवारी पाउनु भनेको राज्यको जिम्मेवार व्यक्ति बन्ने अवसर पनि हो–उहाँले भन्नुभयो, “यसको उचित उपयोग गर्दै आम मतदातासम्म अहिले सिकाएको शिक्षा तपाई कार्यकर्ता र स्वयम्सेवकबाट पु¥याउन जरुरी छ ।

उहाँले प्रजातन्त्रमा निर्वाचन अक्सिजन जस्तै भएको उल्लेख गर्दै त्यसको अनिवार्यता र निरन्तरताका लागि आम मतदातासमक्ष सन्देश पु¥याउने काम स्वयम्सेवकको भएको बताउनुभयो ।

सो अवसरमा सहभागीलाई निर्वाचनसम्बन्धी शिक्षा र मतदान कसरी बदर नहुने गरी गर्ने भन्ने कुरालाई राम्रोसँग सिकाउने जिम्मा स्वयम्सेवकमाथि आएको प्रष्ट पार्नुभयो ।

त्यस्तै, जिल्ला निर्वाचन कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जिल्लाभरिमा ३३० जनालाई निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवकसम्बन्धी प्रशिक्षण दिने काम आजदेखि सुरु भएको बताउनुभयो ।

“आजदेखि निर्वाचन आयोगले तोकेबमोजिम जिल्लामा निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवकसम्बन्धी प्रशिक्षण सुरु भएको छ, यो प्रत्येक समूहलाई दुई÷दुई दिन प्रदान गर्दै तीन दिनभित्रमा ३३० जनालाई प्रशिक्षण दिइसक्छौँ– पोखरेलले भन्नुभयो, जसअनुसार आज जिल्ला निर्वाचन कार्यालयले ९० जनालाई प्रशिक्षण दिइरहेका छौँ ।

उहाँका अनुसार प्रशिक्षण कार्यक्रममा जिल्लास्थित सामाजिक परिचालक, विद्यालयका बालविकास केन्द्रका शिक्षिका तथा आवश्यकताअनुसार नपुग भएका ठाउँमा प्राथमिक तहका शिक्षकलाई समावेश गरिनेछ । उहाँले प्रत्येक केन्द्रमा एकहजार मतदाताको सहभागिता हुनेगरी १८९ वटा मतदान स्थलमा ३३० वटा केन्द्र हुने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाबाट विसं २०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा महिला एकलाख १५ हजार २५५, पुरुष एकलाख १५ हजार ५९३ र तेस्रोलिङ्गी एक जनागरी कुल दुईलाख ३० हजार ८४९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रासस