सम्पादकीय

आइजिपी नहुदाँ के–के अड्किए ? कस-कसलाई मस्ती छ ?



काठमाडौं, २३ चैत । झट्ट हेर्दा पुलिसले बर्दी लगाएकै छन् । समाउनुपर्ने मान्छे समाएकै छन् । हवल्दारले सुन लुटे, ती पनि प्रहरीकै खोरमा छन् । तर, हेरिँदा देखिएका दृष्यमात्र छैनन् प्रहरीमा ।

सर्वसाधारणको आँखाले पहिल्याइनसकेका, तर राष्ट्रिय सुरक्षा, संगठनको छवि र प्रहरी मनोबलका दृष्टिले नेपाल प्रहरी अहिले पनि विकराल अवस्थामा छ कि, यस्तै स्थिति अर्को महिना रहने हो भने हेडक्वार्टरमा ताला ठोकेर हाकिमहरु घरमा सुत्न गए हुन्छ भन्छन् वरिष्ठ अधिकृत ।

नेपाल प्रहरीसँग दुई दर्जन बढी विदेशी नियोग तथा दाताले विभिन्न विषयमा साझेदारी र समन्वयत्मक सम्बन्ध राखेका छन् । विदेशी दाता वा समन्वयकर्ताहरु कामुका भारमा चलेको प्रहरी नेतृत्वसँग कति कुरा गर्दा त्यसको पक्कापक्की कार्यान्वयन होला भनेर शंका गरिरहेका छन् ।

फागुन १ गते देखि चैत १गते (एक महिना) का बीचमा त्यस्ता विदेशी संस्थाका झण्डै १० वटा छलफल तथा कार्यक्रम बेकामे बनेका छन् । तोकिएका बैठक र छलफल हप्तैपिछे रद्द हुदै आएका छन् । यसको कारण हो, प्रहरीसँग नेतृत्व नहुनु । भएको नेतृत्व ‘कुशको लाश’जस्तो मान्नलाई मात्र हो ।

मानौ, अपरेशनका डीआइजीले कामु आइजिपीसँग बजेटको अभावका बीच तुरुन्तै हेलिकोप्टर माग गरे । कन्फर्म आइजिपी भए अहिले यसो गर वा उसो गर, पछि देखाजएगा भनेर आदेश दिन्थे । तर, अहिले यी कामुले ‘देखाजएगा’ भन्ने हैसियत राख्दैनन् ।

वा, विनासकारी भुकम्प वा कुनै गम्भीर प्राकृतिक प्रकोप आइलाग्यो । त्यसबेला प्रहरी परिचालन मुलतः इन्फेन्ट्री सिष्टम आधारित हुन्छ । तर, प्राविधिक हाकिमले चलाएको कामचलाउ नेतृत्वले के को भरमा, कुन अनुभव र तालिमका आधारमा काम गर्लान् ? जनआस्था साप्ताहिकमा समाचार छ ।