Banner News

एमालेको निर्वाचनको केन्द्रीय कमाण्डमा को –कोः वागी उठे ठाउँको ठाउँ कारबाही



काठमाडौं, २४ चैत ।निर्वाचनको तिथि नजिकिदै जाँदा नेकपा एमालेले निर्वाचनको तयारीलाई तीव्र पारेको छ । निर्वाचनमा सोचे अनरुपको परिणाम हासिल गर्न एमालेले निर्वाचनको केन्द्रीय कमाण्ड तयार गरेको छ । अधिकांश केन्द्रीय नेताहरुलाई बिषयगत जिम्मेवारी दिएर काममा खटाएको छ ।

स्थायी समितिद्वारा उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल नेतृत्वमा गठन गरिएका मूल दुई समिति रहनेछन् । ती समितिभित्र बिषयगत जिम्मेवारीसहितका उपसमिति गठन गरेर नेताहरुलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

एमालेका अनुसार घोषणापत्रको सम्पूर्ण कामको मुल नेतृत्व गौतमले गरिरहेका छन् । गौतम अन्तर्गतको समितिभित्र बिषयगत छलफल भइरहेको छ । उनले संविधानअनुसार समाजवाद उन्मुख दिशामा जानका लागि आवश्यक पर्ने कार्यक्रम घोषणापत्रमा ल्याउने तयारी गरेका छन् ।

महासचिव पोखरेल नेतृत्वको समितिभित्र बिषयगत रुपमा नेताहरुलाई जिम्मेवारी बाँडफाँट भएको छ । निर्वाचन आयोगलगायत निकायहरुसँग समन्वय गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा उपसमिति गठन भएको छ । उक्त उपसमितिमा रघुजी पन्त, राजेन्द्र पाण्डे, अग्नी खरेल र भानुभक्त ढकाल छन् । निर्वाचन आयोगका गतिविधि र पार्टीका चुनावी काम यो उपसमितिले गर्नेछ ।

सुरक्षा निकायलगायत प्रशासनसंग समन्वय महासचिव ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र कृष्णगोपाल श्रेष्ठले गर्ने तय भएको छ । प्रचार संयोजनको जिम्मा प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई दिइएको छ ।

प्रदेशमा निर्वाचनको तयारीका काम सम्बन्धमा जानकारी लिन र समन्वय गर्न भानुभक्त ढकाल, वंशीधर मिश्र, रघुजी पन्त, बेदुराम भुसाल, रामकुमारी झाँक्री, छविलाल विश्वकर्मा र अग्नी खरेललाई जिम्मा दिइएको छ ।

स्थायी कमिटीको निर्णयअनुसार सबै केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु एवं सांसदहरूलाई चैत्र मसान्तसम्ममा सम्बन्धित भूगोलमा पुगेर निर्वाचन अभियानमा सहभागी हुन निर्वाचन समन्वय समितिले निर्देशन दिएको छ ।
पार्टीको आधिकारिक उम्मेदवारको विरुद्ध वागी उठ्ने वा असहयोग गर्ने कार्यकर्तालाई पार्टीले स्थलमै कारबाही गर्ने नीति पनि लिएको छ । निर्वाचनमा अन्य दलसँग सहकार्य र गठबन्धनका लागि एमालेले केन्द्रबाटै नीति र निर्देशन दिनेछ । अहिलेको ठूलो दल नेपाली काँग्रेसलाई नै एमालेले मुख्य प्रतिस्पर्धी मानेको छ ।

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधानअनुरुप हुन गइरहेको तीन तह स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद् को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णयले कार्यकर्तामा अवसरको वितरण व्यवस्थित हुने बताए ।

एमालेले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ ।