काठमाडौं, २५ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि गम्भीर आरोप लगाएका छन् । उनले षड्यन्त्रपूर्ण तरिकाले आफूलाई प्रधानमन्त्रीले वाइपास गर्न लागेको भन्दै उनी प्रधानमन्त्री विरुद्ध खनिएका छन् ।
कांग्रेसले सत्ताको नेतृत्व दिएबापत आफूलाई मन्त्रिपरिषद् बैठकमै सहभागी नगराउने षड्यन्त्र गरी गुन तिरेको भन्दै गृहमन्त्री निधि प्रधानमन्त्री दाहालविरुद्ध खनिएका हुन् ।
हिजो बोलाइएको मन्त्रिपरिषद् बैठक अनाचक आइतबारलाई सारेपछि कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई गृह मन्त्रालय बोलाउँदै निधि प्रधानमन्त्री दाहालविरुद्ध निकै आक्रामक बनेका हुन् । छलफलमा उनले आवश्यक परे सरकार छाड्नेसमेतको निर्णय सुनाएको छलफलमा सहभागी एक मन्त्रीले जानकारी गराए ।
‘प्रधानमन्त्री बनाइदिने कांग्रेसजस्तो सबैभन्दा ठूलो दललाई नै हेपेर मन्त्रिपरिषद् बैठकमा समेत मलाई नराख्ने र कमल थापालाई पहिलो वरीयता दिने योजना बनाएका रहेछन्, यो सूचना पाएर म काठमाडौंबाहिर नगएपछि बैठक नै सारियो,’ बैठकमा निधिको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । ती मन्त्रीकाअनुसार प्रधानमन्त्रीको योजना थाहा पाएर आफू उपत्यकाबाहिर नगएपछि मन्त्रिपरिषद् बैठक नै सारिएको तथ्य उनले पेस गरेका थिए ।
प्रधानमन्त्री दाहालले आफू उपत्यकामा नहुने पूर्वनिर्धारित कार्यक्रमका आधारमा बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक राख्ने योजना बनाएका थिए । गृहमन्त्री निधि बिहीबार बिहान जनकपुर जाने र स्थानीय निर्वाचनबारे पार्टीको आन्तरिक छलफलमा जुट्ने कार्यक्रम रहेको थियो ।
तर, उनले बिहानै आफू काठमाडौंबाहिर नजाने जनाई चाँडो बैठक राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले सो सूचना पाई आइतबारका लागि बैठक सारिएको निधिको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्