काठमाडौं, २९ चैत । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको टिकट वितरणका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाउने भएको छ। पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार टिकटमा हस्ताक्षर गर्न ७५ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउन लागेको हो।
निर्वाचन आयोगले दलहरुसँग आधिकारीक व्यक्तिको नाम र हस्ताक्षर मागपछि कांग्रेसले केन्द्रीय सदस्यलाई टिकटमा हस्ताक्षरको अधिकारसहित जिल्ला पठाउने तयारी थालेको छ। ७५ जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पार्टीले पदाधिकारीको हैसीयतमा पठाउने भएको छ।
त्यसका लागि कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन जारी राखेको छ । चैत ३० भित्र कांग्रेसले कुन जिल्लाको कुन नेता आधिकारीक व्यक्ति हो भन्ने जानकारी र हस्ताक्षरसहित आयोगलाई जानकारी गराउने छ।
‘बैशाख १६गते उम्मेदवार मनोनयन पत्र (टिकट)मा हस्ताक्षर गर्न केन्द्रीय सदस्य पठाउन लागिएको हो,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘केन्द्रीय समितिले तय गरेको पदाधिकारी वा प्रदेश पदाधिकारी चाहिने भनेकाले सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिले पदाधिकारी मनोनित गर्ने निर्णय गरेको छ।’
सात सय चवालीस नगर तथा गाउँपालिकाका सबै उम्मेदवारको टिकटमा सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले हस्ताक्षर गर्न सम्भव नदेखिने भएपछि केन्द्रीय सदस्यलाई पदाधिकारीको हैसीयतमा जिल्ला पठाउन लागिएको हो ।
‘झन्डै ३७ हजारको टिकटमा सभापतिले मात्र हस्ताक्षर गर्दै २० दिन लाग्ने देखियो,’ एक केन्द्रीय नेताले भने, ‘पार्टी नेतृत्वको अधिकार सदस्यलाई प्रत्यायोजन गरेर गुटगत भागबन्डाको आधारमा सदस्यहरुलाई जिल्ला पठाउन लागिएको हो।’
संविधानले जिल्लाको अस्थीत्वलाई स्वीकार नगरेपछि उम्मेदवार मनोनयनमा समस्या देखिने भएपछि आयोगले आधिकारीक र सम्पर्क व्यक्ति दलहरुसँग माग्दै आएको छ । चैत २६ भित्र नाम दिन आयोगले दलहरुलाई पत्राचार गरेको थियो । तर, कांग्रेसहितका दलहरुले केही समय माग गरेपछि चैत ३०गतेसम्म समय दिएको छ ।कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्