काठमाडौं, ३० चैत । सर्लाहीको भक्तिपुरमा कालाजारको महामारी फैलिएको छ । एक साता देखि फैलिएको कालाजार रोगबाट भक्तिपुरको राईटरखोर गाउँमा अहिले सम्म ६ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले पुष्टी गरेको छ ।
कालाजारबाट बिरामी भएका १४ जनाको जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको जनस्वास्थ्य अधिकृत प्रभाकर झाले जानकारी दिए । भक्तिपुर स्वास्थ्य चौकीबाट ढिलो गरी जानकारी आएकाले महामारीले ठुलो रुप लिएको उनले बताए ।
झाका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले महामारी फैलिएको स्थानमै गएर बिरामीको रगत परीक्षण गर्दा १४ जनामा कालाजार भेटिएपछि उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लगिएको हो ।
कालाजारले महामारीको रुप लिएपनि भक्तिपुर स्वास्थ्य चौकीले गम्भीरता नदेखाएको स्थानीयले गुनासो गरेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले महामारी नियन्त्रणका लागि सबै निकायसँग समन्वय भैरहेको बताए ।
चिकित्सकका अनुसार सेन्ट फ्लाई नामको भुसुनालले टोक्दा कालाजार रोग लाग्छ । टाउको दुख्ने, ज्वरो आउने, अनुहार कालो हुँदै जाने, शरीरमा रगतको मात्रा घट्नु कालाजारको प्रमुख लक्षण हो । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्