विश्व

फिलिपिनी पर्यटकीय टापूमा ‘आतङ्कवादी’ सँगको झडपमा नौ जनाको मृत्यु



फिलिपिन्स, २९ चैत । फिलिपिन्सको पर्यटकीय टापुमा शङ्कास्पद इस्लामिक लडाकूसँग यहाँको सुरक्षाकर्मीको मङ्गलबार झडप हुँदा कम्तीमा चार सुरक्षाकर्मीसहित नौ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीले जनाएका छन् ।

इस्टर क्रिश्चियन पर्व मनाउन बर्सेनि लाखौँ मानिस बोहोल टापुमा जाने गर्छन । यस वर्ष पनि सधैँझै उक्त टापुमा क्रिश्चियन पवित्र पर्व ‘इस्टर’ मनाउन लाखौँ मानिस त्यसतर्फ जम्मा हुने अपेक्षा थियो ।

बोहोल टापुमा ठूलो सङ्ख्यामा अबु सैयफ समूहका लडाकू प्रवेश गरी खासगरी विदेशी पर्यटकलाई निशाना बनाउनसक्ने सूचना आइरहेका समय भएको झडपले उक्त टापुप्रति विदेशीको आकर्षणलाई चुनौती दिने बताइएको छ ।

झडपपछि उक्त स्थानमा पाँच लडाकूको मृत्यु भएको, एक विस्फोटक पदार्थ र लडाकूले प्रयोग गरेका चार राइफल कब्जा गरिएको यहाँको सुरक्षा स्रोतले बताएको छ ।

उक्त टापुमा आतङ्कवादी हमला हुनसक्ने भन्दै केही दिन पहिले अमेरिका तथा अस्ट्रेलिया प्रशासनले आफ्ना नागरिकलाई यात्रामा सावधानी अपनाउन वा अनावश्यक रुपमा त्यहाँ नजान सल्लाह दिएको थियो । बेलायतले पनि मङ्गलबार घटना हुनुपूर्व नै सोही किसिमको सल्लाह आफ्ना नागरिकलाई दिएको थियो । एएफपी