काठमाडौं, १ बैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगको कामकाज विगत दुई महिनादेखि ठप्प भएको छ । आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ फागुन १ गतेदेखि कार्यालयमा उपस्थित नभएको आयोगका सदस्यसचिव श्रीकृष्ण सुवेदीले जानकारी दिए । अध्यक्ष उपस्थित नहुँदा कार्यालयको सम्पूर्ण कामकाज प्रभावित भएको छ ।
आयोगका अध्यक्ष गुरुङ र सदस्य डा। माधवी भट्टबीचको मनमुटाब बढ्दै गएपछि आयोग अध्यक्ष कार्यालयमा अनुपस्थित भएका हुन् । गत २० माघमा बसेको आयोगको बैठकमा अध्यक्ष गुरुङ र सदस्य डा। भट्टबीच विवाद भएको थियो । सदस्य डा। भट्टले आफूमाथि अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष गुरुङ कार्यालय आउन छाडेका हुन् । सदस्य डा। भट्टलाई आयोगबाट नहटाएसम्म कार्यालयमा नआउने अध्यक्ष गुरुङको अडान छ ।
कामकाज प्रभावित
अध्यक्ष गुरुङ कार्यालयमा उपस्थित हुन नसक्दा आयोगका सबै काम प्रभावित भएको आयोग सदस्यहरूको गुनासो छ । पीडितहरूको उजुरी छानबिन गर्ने, बैठक बोलाउने, बिदा स्वीकृत गर्ने, जिल्ला भ्रमण जाने, तोक आदेश गर्नेजस्ता आयोगको महत्वपूर्ण कामहरू पूर्ण रूपमा प्रभावित भएको आयोगका सदस्यहरूको भनाइ छ ।
अध्यक्षको अनुपस्थिति भएका वेला सदस्यहरूमध्ये सिनियर सदस्यको अध्यक्षतामा बैठक राख्ने प्रावधान छ । तर, कुनै ठोस निर्णय नभई कामचलाउ निर्णय लिने अधिकार मात्रै तोकिएको छ । अध्यक्षबाहेक अन्य सदस्यसँग अधिकार नरहेकाले सबै निर्णय हुन नसकेको सदस्यसचिव श्रीकृष्ण सुवेदीले बताए ।
दुई महिनामा २ वटा बैठक
आयोगको विवादले दुई महिनादेखि कुनै पनि काम भएका छैनन् । आन्तरिक विवादले सबै उजुरीहरू अलपत्रमा छन् । कुनै उजुरीमाथि छानबिन हुन सकेको छैन । अध्यक्ष अनुपस्थित भएसँगै अहिलेसम्म दुईपटक मात्रै बैठक बसेको छ । त्यो बैठकले कुनै ठूलो निर्णय नगरी आगामी वर्षको कार्ययोजना मात्र बनाएको सचिव सुवेदीले बताए । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्