सम्पादकीय

मोर्चासहित दुई चरणमा निर्वाचनः कांग्रेसले मोर्चालाई सहमतिमा ल्याउने



काठमाडौं, ३ बैशाख । कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष नेतासहित प्रदेश नम्बर २ का जिल्ला सभापति, सांसद र केन्द्रीय सदस्यहरूको संयुक्त बैठकले वैशाख ३१ का लागि तय चुनाव स्थगन नगरी प्रदेश नम्बर २ र ५ मा दोस्रो चरणमा चुनाव गर्ने निष्कर्ष निकालेको हो ।

‘मधेसी मोर्चासँग वार्ता गरेर दोस्रो चरणमा मधेसमा चुनाव गर्ने गरी दुई चरणमा स्थानीय तहको चुनाव गर्ने वातावरण बनाउने निष्कर्ष बैठकले निकालेको छ’, बैठकमा सहभागी केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘त्यसका लागि कांग्रेस नेतृत्वले मोर्चासँग वार्ता गरेर सहमतिमा ल्याउन पहल गर्ने सहमति भएको छ ।’

यसअघि कांग्रेसका मधेसी सांसद र केन्द्रीय सदस्यले नै मधेसमा दोस्रो चरणमा चुनाव गर्न नहुने धारणा व्यक्त गर्दै आएका थिए । मधेसी मोर्चाले सरकारले संसद्मा पेस गरेको पाँचबुँदे संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउँदै चुनाव बहिष्कार गर्ने निर्णय गरेपछि कांग्रेस लचिलो भएको हो ।

बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याउन तत्काल वार्ताको पहल गर्ने निर्णय गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवाले मधेसप्रति आफू संवेदनशील भएको बताउँदै मधेसी मोर्चासँग तत्काल वार्ताको पहल गरी समस्या समाधान गर्ने धारणा व्यक्त गरेका थिए ।

‘मधेसको समस्या समाधान गर्नेमा म प्रस्ट छु’, देउवाले बैठकमा भन्नुभयो, ‘मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउँछु ।’ बैठकमा वैशाख ३१ का लागि तोकिएको स्थानीय चुनावलाई पहिलो चरणमा गरी दोस्रो चरणमा प्रदेश नम्बर २ र ५ मा चुनाव गर्ने गरी निर्णयमा पुग्न सकिने धारणा अधिकांशले व्यक्त गरेका थिए ।

बैठकले मधेसी मोर्चालाई वार्ताका लागि आह्वान पनि गरेको छ । ‘मधेसी मोर्चालाई सहमतिमा आउन वार्ताका लागि बैठकले आह्वान गरेको छ’, यादवले भने ।

केन्द्रीय सदस्य यादव, फरमुल्ला मन्सुर, रमेश रिजाल, जिल्ला सभापति उमेश यादवलगायतले मधेसी मोर्चासँग सहमति गरेर दुई चरणमा चुनाव गर्नुपर्ने बताएका थिए ।

कोषाध्यक्ष सीतादेवी यादवलगायत केहीले भने दुई चरणमा नभई केही समय पर सारेर भए पनि एकै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा अधिकांशले वर्तमान सरकार गठन हुँदा मधेसको असन्तुष्टि समाधान गर्ने लिखित सहमति गरिएको स्मरण गराउँदै सहमति गरेर मात्रै मधेसमा चुनावमा जानुपर्ने धारणा राखेका थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।