Banner News

राष्ट्रपति विद्यादेवी भण्डारीले आज मुखर्जी र प्रधानमन्त्री मोदीसँग भेट्ने



काठमाडौ ५ वैशाख । पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली जानु भएको हो ।

राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भारतीय महिला राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभएको थियो ।राष्ट्रपति भण्डारीलाई विशेष अतिथिको सम्मानसहित विमानस्थलबाट सिधै राष्ट्रपति भवन लगिएको थियो । राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भेट गर्नुभएको थियो ।

त्यसैगरी, हिजै नेसनलिस्ट कांग्रेसका नेता डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम येचुरी, जनता दल युनाइटेडका नेता शरद यादवलगायत नेताले भेट गर्नुभयो । भेटका अवसरमा उहाँहरूले नेपालको संवैधानिक व्यवस्था र समावेशीतामा नेपालले फड्को मारेको विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, राष्ट्रपतिले आवधिक निर्वाचन सम्पन्न गराउने चुनौतीलगायत नेपालको संविधानमा महिला, सीमान्तकृत महिलाको अधिकारको सुनिश्चिततालगायत सवल पक्षबारे बताउनुभएको राष्ट्रपतिका सल्लाहकार डामदनकुमार भट्टराईले जानकारी दिनुभयो ।

आज राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग आज भेटवार्ता गर्नुहुनेछ ।

आज साँझ भने भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ । मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ । दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम छ ।