काठमाडौं, ६ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधैँ नेपालको हितमा रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ताका क्रममा मोदीले यस्तो बताएका हुन् ।
राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन हुँदै यो बर्षभित्र तीनवटा निर्वाचन गराउने र संविधानको व्यवस्था कार्यान्वयन गर्ने नेपालको प्राथमिकता सुनाएपछि मोदीले यस्तो जबाफ दिएका हुन् ।
भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले मोदीलाई उद्धृत गर्दै भने, ‘भारत नेपालको हित चाहन्छ, नेपालको हितका लागि सहयोग गर्न चाहन्छ ।’ भेटमा नेपाल भारत सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा दुवै पक्षले जोड दिएको मन्त्री महतले जानकारी दिए ।
मोदीले भारत सधै नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै नेपालको सबै प्रयास र विकास प्रकृयामा भारतको साथ रहने बताएका थिए ।
मोदीले यस भेटावार्तामा नेपालमा हुन लागि रहेको स्थानीय तहको निर्वाचन र मधेसमा भइरहेको असन्तुष्टीका बारेमा कुनै कुरा उप्काएनन् । बरु दुई देशबीचको र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ बनाउन तत्पर रहेको उल्लेख गरे ।
पाँच दिने राजकीय भ्रमणका क्रममा भारत आएकी राष्ट्रपति भण्डारीलाई मोदीले भारतीय समय अनुसार दिउँसो ४स्३० बजे भेटेका थिए । यसअघि राष्ट्रपतिसँग मंगलबार नै भारतीय विदेशमन्त्री शुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्त एवं रक्षामन्त्री अरुण जेटलीले शिष्टाचार भेट गरेका थिए । अर्थमन्त्री जेट्लीसँग भारु सटही प्रक्रिया थप सहज गर्न आग्रह गरिएको मन्त्री महतले जानकारी दिए । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्