सम्पादकीय

आइतबार सम्म ३ दलको घोषणा पत्र आउने



काठमाडौं, ७ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा प्रमुख दल घोषणा पत्रलाई अन्तिम रुप दिने तयारीमा जुटेका छन् ।

तीनै दलले घोषणा पत्रमा समावेश गर्ने बिषयवस्तु बारे बिभिन्न क्षेत्रसँगको छलफलाई तीव्र बनाएका छन । सत्ता साझेदार कंग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमाले घोषणा पत्रलाई प्रभावकारी बनाउँदै आगामी आईतबार सम्ममा सार्वजनिक गर्ने तयारीमा जुटेका हुन् ।

स्थानीय तहको घोषणा पत्रलाई प्रभावकारी बनाउन कांग्रेसको स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समितिको बैठक बसेको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकमा जनमुखी कार्यक्रम समावेश गर्दै घोषणा पत्रलाई अन्तिम रुप दिन छलफल भएको समिति सदस्य प्रदिप पराजुलीले जानकारी दिए।

कांग्रेसले स्थानीय तहमा उम्मेद्वार तय गरी नामावली पढाउन मातहतका निकायलाई निर्देशन दिईसकेको छ ।

कांग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवारको मनोनयनपत्रमा पार्टी सभापतिको दस्तखत र बाँकी सबै पदमा केन्द्रीय पदाधिकारी तथा सदस्यको दस्तखत हुने निर्णय यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ ।

सत्ता नेतृत्वकर्ता दल माओवादी केन्द्रले पनि माओवादी केन्द्रको उपहार, गाउँ नगरमा सिंहदरवार भन्ने नारा सहितको प्रतिवद्धता पत्र तयार बनाईसकेको छ । नेता देव गुरुङ संयोजकत्वको टोलीले तयार बनाएको प्रतिवद्धता पत्रलाई अन्तिम रुप दिई पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई बुझाईसकेको प्रवक्ता पम्फा भुषालले जानकारी दिए ।

प्रतिवद्धता पत्रमा विभिन्न राजनीतिक, वैचारिक विषय समेट्दै अब पार्टी नयाँ ढङ्गले जनताको घरदैलोसम्म पुग्ने विषय समेटेको भुषालको भनाई छ । आगामी शनिबार एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गर्ने तयारी माओवादी केन्द्रको छ ।

यस्तै स्थानीय तहको निर्वाचन लक्षित छलफल तिब्र बनाएको प्रमुख प्रतिपक्षी एमालेले पार्टी सम्वद्ध बौद्धिक समुदायसँग सुझाव लिएको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यलयमा प्राज्ञिक व्यक्ति, पुर्व राजदुत, पुर्व गर्भनर, योजना आयोगका पुर्व उपाध्यक्ष, पार्टीका जनसंगठनका वुद्धिजिवीलाई बोलाएर प्रचार विभागले घोषणा पत्र तयारीका लागि सुझाव लिएको हो ।

बैठकमा सहभागीले जनताका दैनिकीसँग जोडिएका विषय घोषणा पत्रमा समेट्न सुझाव दिएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

विभिन्न क्षेत्रबाट आएका सुझावलाई लिपिवद्ध गरी घोषणापत्र तयारी समितिका संयोजक बामदेव गौतमलाई उपलब्ध गराउने भट्टराईले बताए । राप्रपा लगायत दल पनि स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्र बनाउँदै घरदैलौ अभियानमा जुटेका छन् । निर्वाचन आयोगले आगामी १६ गते उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । कान्तिपुरमा समाचार छ ।