जाकार्ता, ७ बैशाख । अमेरिकी उपराष्ट्रपति माइक पेन्स आफ्नो १० दिने एसियाली मुलुकहरु भ्रमणको क्रममा आज इन्डोनेसिया आईपुग्नु भएको छ ।
उहाँले इन्डोनेसियाली राष्ट्रपति तथा देशका उच्चस्तरीय नेता तथा राष्ट्रिय अधिकारीहरुसँग बैठक र छलफल गर्नु हुनेछ । अमेरिका तथा इन्डोनेसियाबीच केही अघिदेखि उत्पन्न ब्यापारिक तथा बाणिज्यगत बिबाद सुल्झाउने पनि द्विपक्षीय छलफलको एउटा एजेन्डा रहने बताइएको छ ।
केही अघि इन्डोनेसियामा सम्पन्न गभर्नरस्तरीय आम निर्वाचनमा आफ्ना कट्टर समर्थक जाकार्ताका गभर्नरको हार भएपछि बिचलित भई राष्ट्रपति जोको जोकोवी विडोडो गम्भीर राजनीतिक चिन्तामा फस्नु भएको जनाइएको छ । यस्तै परिस्थितिबीच अमेरिकी उपराष्ट्रपति पेन्स इन्डोनेसिया भ्रमणमा आइपुग्नु भएको हो । उहाँको इन्डोनेसिया बसाई दुई दिनको हुनेछ ।
इन्डोनेसियाले अमेरिकाप्रति देखाउँदै आएको कूटनैतिक ब्यबहार र रबैयाबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने सन्तुष्ट हुनुहुन्न । उहाँले इन्डोनेसियालाई ब्यापारिक प्रहार सूचि ट्रेड हिट लिस्ट मा राख्नु भएको छ । कुरा यहाँनेर अल्झिएको छ कि इन्डोनेसियाली सरकारसँग बिबाद र खरखिचोलाका बीच इन्डोनेसियाको पापुआ प्रान्तमा एउटा ठूलो अमेरिकी कम्पनीले बिश्वको सबभन्दा ठूलो तामा खानी उत्खनन र सन्चालन गरिरहेको छ ।
यद्यपि, उपराष्ट्रपति पेन्सको इन्डोनेसिया भ्रमण र छलफलले अमेरिका तथा इन्डोनेसियाबीच कायम रहँदै आएको ब्यापारिक तथा बाणिज्यगत बिबाद र तिक्तता सुल्झिने अपेक्षा गरिएको जनाइएको छ । एपी
प्रतिक्रिया दिनुहोस्