शैक्षिक

अन्तर्राष्ट्रिय चिडियाखानाका लागि सहयोग



 

पोखरा, ८ वैशाख । युनाइटेड क्लब पोखराले अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणका लागि बिहीबार रु १० लाख ८५ हजार ३२० हस्तान्तरण गरेको छ ।

पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं ३१ पचभैयामा निर्माणाधीन चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेललाई क्लबका अध्यक्ष शुकबहादुर गुरुङ र नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संयुक्तरुपमा सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।

दुई वर्षअघिदेखि निर्माण सुरु भएको सो चिडियाखानाका लागि क्लबले हालसम्म रु ३५ लाख ८५ हजार ३२० सहयोग गरिसकेको क्लबका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

सो ठाउँको १३४ हेक्टर क्षेत्रफलका तीनवटा सामुदायिक वनलाई समेटेर निर्माण गरिन लागेको सो चिडियाखानामा हाल अजिङ्गर, निलगाई, मृग, जङ्गली बिरालो, हुचिल, चिल, रतुवा मृगलगायत जङ्गली जनावर राखिएको छ ।

क्लबले पोखरा–लेखनाथ महानगरपालिकाको घार्मीमा रहेको महेन्द्र माविमा रु एक लाखको अक्षयकोषसमेत स्थापना गरेको छ ।

अक्षयकोषबाट प्राप्त ब्याजवाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेको छ ।

गत वर्षको पुस २९ देखि माघ १० गतेसम्म अमरसिंह उच्च माविको चौरमा सञ्चालित सातौँ पोखरा महोत्सवबाट सङ्कलित रकमबाट ती दुवै ठाउँमा सहयोग गरिएको बताइएको छ । रासस