राजनीति

सरकारले संविधान दोस्रो संशोधन प्रस्ताव संसद्मा पेस



काठमाडौँ, ११ वैशाख । सरकारले ‘नेपालको संविधान दोस्रो संशोधन, २०७३’ व्यवस्थापिका–संसद् बैठकमा प्रस्तुत गरेको छ ।

सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा सो संशोधन प्रस्ताव प्रस्तुत गर्दै संविधान कार्यान्वयन प्रक्रिया सरलीकृत बनाउन र संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन ल्याइएको बताउनुभयो । संविधान कार्यान्वयन गरी निर्वाचनमा सबैलाई सहभागी हुने र निर्वाचनका लागि उपयुक्त वातावरण हुने गरी संशोधन ल्याइएको उहाँको तर्क थियो ।
यसअघि संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले प्रस्तुत गरेको विरोधको सूचनालाई संसद्को बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा सांसद सुवालले संशोधन द्रुत मार्गमा पारित गर्नु लोकतन्त्र विपरीत हुने बताउँदै सीमाङ्कन गर्दा प्रदेशको सहमति नचाहिने र स्थानीय तह बढाउने संशोधनका प्रावधानप्रति आपत्ति जनाउँदै नागरिकतालाई सजिलो र सस्तो नबनाउन माग गर्नुभयो ।

आजको बैठकले ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिका तर्फबाट गणेशप्रसाद विमलीले ‘वनस्पति विधेयकलाई फिर्ता लिनेसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गर्नुभएको थियो । संसद्को अर्को बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ ।