सम्पादकीय

निर्वाचनमा सुरक्षा दिन सेना तयार



काठमाडौं, १२ वैशाख । आगामी स्थानीय तह निर्वाचनमा संवैधानिक व्यवस्थाअनुसार सुरक्षा दिन तयार रहेको नेपाली सेनाले जनाएको छ । वैशाख ३१ र जेठ ३१ मा दुई चरणमा हुने निर्वाचनका लागि सरकारले दिएको जिम्मेवारी पूरा गर्ने सेनाले बताएको हो ।

गृह मन्त्रालयले विभिन्न क्षेत्रमा सुरक्षा भेला गरी सुरक्षा निकायलाई समन्वय गर्न, भूमिका स्पष्ट पार्न, स्रोतसाधन संकलन गर्न र प्रभावकारी भूमिका निर्वाह गर्न सेनासहित एकीकृत सुरक्षालाई अघि बढाइसकेको जनाएको छ । सुरक्षा निकायहरूबीच समन्वयका लागि सात प्रदेशलाई समेट्ने गरी गृह मन्त्रालयले विराटनगर, धगनढी, नेपालगन्ज, पोखरा, धुलिखेल र सिमरामा ६ सुरक्षा गोष्ठी गरिसकेको छ ।

सैनिक प्रवक्ता सहायक रथी भंकर कडायतले निर्वाचनमा सरकारले जिम्मेवारी दिएपछि पूरा गर्ने प्रस्ट पारे । उनले अहिले मतपत्र छापिरहेको स्थानमा पनि सेनाले सुरक्षा दिइरहेको बताए । गृहले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा जिल्लाहरूलाई विभाजन गरेको छ । निर्वाचनमा सेना परिचालन गर्ने सम्बन्धमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद् बैठकमार्फत पारित गरी स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइसकेको छ ।

‘स्वीकृत भएपछि निर्वाचनमा सेनालाई परिचालन गर्न सकिन्छ,’ रक्षा सचिव श्रीधर सापकोटाले भने । केन्द्रीय सुरक्षा परिषद्ले गरेको निर्णयअनुसार निर्वाचनमा भित्री घेरामा नेपाल प्रहरी, बीचको घेरामा सशस्त्र प्रहरी बल र त्यसको अझै बाहिरी घेरामा सेनालाई परिचालन गरिनेछ । साथै, मतपेटिकासहित निर्वाचनका लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री सेनाले सुरक्षा दिने र ढुवानी गर्नेछ ।
कान्तिपुरमा समाचार छ ।