राजनीति

छाता चिह्न पाउने सम्भावना छैन : प्रमुख निर्वाचन आयुक्त



बनेपा, १३ वैशाख । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एकीकरणमा गएका राजनीतिक दललाई अहिले नयाँ चुनाव चिह्न दिन नसकिने बताए ।

उनले भने,“अब छाता चुनाव चिह्न पाउने कुनै सम्भावना छैन । प्रमुख निर्वाचन आयुक्त यादवले पहिलेकै चुनाव चिह्नलाई मिलाएर ल्याउन मधेस केन्द्रित दललाई आग्रह गर्दै वैशाख ३१ गतेको निर्वाचन हुनेमा शङ्का नगर्न सबैलाई अनुरोध गरे ।

उनले जेठ १५ गते बजेट ल्याउन निर्वाचन आयोगको परामर्श आवश्यक भएकामा जोड दिँदै बजेटबाट दोस्रो चरणको निर्वाचन प्रभावित हुनुहँुदैन भने ।

नेपाली काँग्रेस, काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दुर्गम क्षेत्रमा विविध कारणवश अझै पनि मतदान गर्ने अवसरबाट मतदाता वञ्चित भएको बताए । नेकपा (एमाले), काभ्रेपलाञ्चोकका उपाध्यक्ष अशोक व्याञ्जुले दोस्रो चरणको निर्वाचन नै आचारसंहिता विपरीत भएको आरोप लगाए ।

काभ्रेपलाञ्चोकका प्रमुख निर्वाचन अधिकृत मोदिनीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता विपरीत काम भए त्यो जोखिमपूर्ण र प्रत्युत्पादक हुने चेतावनी दिँदै आचारसंहिता उल्लङ्घन गरेर चुनाव नजितौँ भने ।

निर्वाचन आयोगका सहसचिव नवराज ढकालले स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको जानकारी दिँदै मतदाता शिक्षालाई व्यापक बनाइएको बताए । सो अवसरमा आचारसंहिता, पर्यवेक्षणलगायत विभिन्न विषयमा आएका विभिन्न प्रश्नको प्रमुख निर्वाचन आयुक्त यादवले जिज्ञासा मेटाएका थिए । रासस