काठमाडौं, १५ वैशाख । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी गठबन्धनको बैठकले संविधान संशोधनको विपक्षमा संशोधन हाल्ने निर्णय गरेको छ । संशोधन हाल्ने ७२ घन्टे समयभित्र गठबन्धनका तर्फबाट छुट्टै संशोधन हाल्ने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘आफ्नो अडान स्पष्ट पार्न हामीले संशोधन हाल्ने निष्कर्ष निकालेका छौँ,’ नेम्वाङले भने, ‘यसका लागि शुक्रबार थप गृहकार्य हुनेछ ।’
सरकारले विधेयकमा परिवर्तन गर्न खोजेको सीमांकन हेरफेर, भाषा, नागरिकता, स्थानीय तहको अधिकारलगायतका सबै विषयमा संशोधन हाल्ने विपक्षीको तयारी छ । यसअघि एमाले स्थायी समिति बैठकले संशोधन विधेयको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
गठबन्धनबाट बाहिरिने परिवार दलको संकेत
विपक्ष गठबन्धनलाई साथ दिँदै आएको परिवार दलले बिहीबारको बैठकमा फरक मत राखेर सत्तापक्षसँग निकट हुने प्रस्ट संकेत गरेको छ । ‘अहिलेको संशोधन विधेयक अघिल्लोभन्दा पनि अझ पछाडि फर्केर ल्याइएकाले समर्थन गर्न नसकिने भन्दै विपक्ष गठबन्धन कसिलो बनाएर जानुपर्ने धारणा एमालेको थियो ।
गठबन्धनको बैठकपछि परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने, ‘हामीले मुलुकलाई निकास दिन र निर्वाचनको माहोल बिग्रिन नदिन मधेसकेन्द्रित दललाई पनि साथमा लिएर जानुपर्ने स्थिति रहेकाले एमालेसहित विपक्षी गठबन्धनले हाल्ने संशोधनलाई पनि मिलाउने गरी पारित गरेर जाँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्यौँ । ’नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्