सम्पादकीय

चिनियाँ रेल लुम्बिनीसम्म’



काठमाडौं, १६ वैशाख । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताएका छन ।

चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसमक्ष प्रस्ताव राखेका छन । हामी चीनको यो अवधारणामा सहभागी भएर लाभ लिन चाहन्छौं।’

चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड अवधारणाअनुसार चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य छ । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा भएको भेटमा चीनले अघि बढाएको यस अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाएका थिए ।

अर्थमन्त्री महरा एक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीनले वैशाख ३१ र जेठ १ मा बेइजिङमा आयोजना गर्ने बेल्ट एन्ड रोड शिखर सम्मेलनमा सहभागी हुन जाने तयारी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । महराको भ्रमणमा नेपाल बेल्ट एन्ड रोडको सदस्य बन्नेसम्बन्धी चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि टुंगो भइनसकेको अधिकारीहरूले उल्लेख गरेका छन् ।

चीनको सिचुवान विश्वविद्यालयका प्राध्यापक दाइ योङहोङले बेल्ट एन्ड रोड अवधारणामा नेपाल चाँडै सदस्य बन्न लागेकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, ‘चीन र एसियाबीचको जमिनबाट हुने व्यापारका लागि नेपालले पुलको काम गर्न सक्छ ।’प्राध्यापक दाइले भारतले चीनको मुख्य अग्रसरतामा स्थापित एसियाली पूर्वाधार बैंकको दोस्रो ठूलो हिस्सेदारका रूपमा संलग्न रहेको तथा बंगलादेश, चीन, भारत र म्यानमारबीचको आर्थिक करिडोर (बीसीआईएम) मा सदस्य बनेर भारतले एक हिसाबले बेल्ट एन्ड रोड अवधारणामा सहभागिता जनाइसकेको बताए ।

चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले चीन र दक्षिणएसियाबीच पुलका रूपमा नेपालले ओबीओआर फ्रेमवर्कभित्र रहेर काम गर्ने अवसर रहेको बताए । कार्यक्रममा भारत, श्रीलंका, पाकिस्तान, बंगालदेशलगायत देशबाट सहभागी उपस्थित थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।