सिबी अधिकारी
काठमाडौँ, १७ वैशाख । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ ।
विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहनेहोल्ड हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ ।
विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भौतिक संरचना बढाउन नसक्दा विमानस्थलको सेवा अस्तव्यस्त बन्दै गएको बताउनुहुन्छ । “विमानस्थलको पूर्वाधार संरचना बढाउन सकिएको छैन जसका कारण भिडभाड बढी हुने गरेको छ, यात्रुको चाप भएपछि सरसफाइमा पनि समस्या छ,”,उहाँले भन्नुभयो । विमानस्थलमा पार्किङको समस्या पुरानै हो । यसले विमानस्थललाई थप अस्तव्यस्त बनाएको छ । पार्किङकै कारण विमानस्थल साँघुरो हुँदा एयर ट्राफिक जाम बढेको महाप्रबन्धक उपाध्यायले बताउनुभयो ।
आन्तरिक उडानतर्फ कतिपय निजी वायु सेवा कम्पनीले उडान स्वीकृति लिँदा बाहिरका गन्तव्यमा पार्किङ गर्ने भनिए पनि उनीहरुले केन्द्रमै राख्ने हँुदा थप चाप बढेको छ । विमानस्थलको क्षमता नहेरी एयरलाइन्सलाई उडान सञ्चालन अनुमति दिइँदा पनि समस्या भइरहेको सम्बद्ध अधिकारी बताउँछन् । विमानस्थलको टर्मिनल भवन साँघुरो हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार तत्कालीन समयमा १२ देखि १५ जहाज ‘हेन्डलिङ’का लागि बनेको टर्मिनल भवनमा अहिले करिब सय अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । आधा यात्रु कक्षमा पनि असाध्यै भिड छ । सय जना क्षमताको शौचालय दुई सय ५० जनाले प्रयोग गर्नुपर्ने बाध्यता छ ।
विसं २००६ देखि नियमित उडान सुरु भएको विमानस्थलको विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । पुरानो भौतिक संरचनाकै भरमा अहिले उड्डयन सेवा दिइएको छ । भौगोलिक कठिनाइ, प्रतिकूल मौसम आदिले पनि विमानस्थलको चाप बढेको छ । विमानस्थलको भौगोलिक अवस्थितिका कारण आधुनिक उपकरण जडानमा कठिनाइ छ । विमानस्थलको भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन आदिलाई ध्यान दिइनाको साटो पुरानो संरचनामा उडान थप्दै जाने प्रवृत्तिले विमानस्थलको छवि अन्तर्राष्ट्रिय जगत्मा कमजोर हुने विज्ञहरु बताउँछन् ।
उड्डयन सुरक्षाको चुनौतीलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण ९आइकाओ०ले लामो समयदेखि त्रिविअलाई कालोसूचीमा राखेको छ, जसलाई हटाउन प्राविधिक तथा भौतिक सुधारका काम गरिनु अनिवार्य छ । साँघुरो विमानस्थलमा अहिले वायुसेवा यानको सङ्ख्या र यात्रु आवागमन पनि बढिरहेकाले हालको भौतिक पूर्वाधार अपुग छ । हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने एक मात्र नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपालको करिब ९० प्रतिशत यात्रुको आवागमन हुने गर्छ ।
विमानस्थलको विवरणानुसार अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिक ९हेलिकोप्टरसहित० तर्फ २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् । अठ्ठाइस मुलुकसँग द्विपक्षीय उडान सम्झौता भए पनि हाल १५ देशका २६ गन्तव्यका अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ । आन्तरिकमा तीन सय १९ र अन्तर्राष्ट्रियमा सय दैनिक उडान भर्दै आएको त्रिअविलाई उडान भार क्रमिक बढेकाले उडान व्यवस्थापनमा चुनौती थपिएको महाप्रबन्धक उपाध्यायले बताउनुभयो ।
अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले हालै बाह्रबुँदे निर्देशन दिनुभएको थियो । मन्त्री गिरीले विमानस्थलको तत्कालीन सुधारका लागि अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घन्टा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।
विमानस्थल सुधार हुँदै
टर्मिनल भवन र आकाशमा होल्ड हुने अवस्थाले विमानस्थलको सेवा प्रभावित बनिरहेका सन्दर्भमा विमानस्थत क्षमता वृद्धि आयोजनाले विमानस्थल सुधारका कामलाई गति दिएको छ ।
प्रवक्ता ठाकुरका अनुसार विमानस्थलको पूर्व क्षेत्रमा एक वर्षभित्र निर्माण सकिने गरी तीन र दक्षिणतर्फ दुई वर्षभित्र सकिने गरी अन्तर्राष्ट्रियस्तरका दुई पार्किङ क्षेत्र बन्दैछ, जहाँ ठूला जहाज पार्किङ गरिनेछ । टर्मिनल बढाइने नयाँ प्रक्रिया सुरु भएको छ भने पाँच सय ट्रली दश दिनभित्र आउँदैछन् । एक महिनाभित्र चार नयाँ ‘कन्भेयर बेल्ट’ राखिने पनि प्रवक्ता ठाकुरले जानकारी दिनुभयो ।
अध्यागमन कार्यालय, त्रिअविका अनुसार सन् २००९ देखि २०१४ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रतिवर्ष करिब १० प्रतिशतको दरले यात्रुको आवागमनमा वृद्धि हुने गरेको छ । सो विमानस्थलको उपयोग गरेर दैनिक औसत आठ हजार मानिसको आवगमन भइरहेको छ । यो विमानस्थलले दैनिक करिब चार दर्जन अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन गरिरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्