राजनीति

संसद बैठक वैशाख २१ गतेसम्मका लागि स्थगन



काठमाडौँ, १७ वैशाख । नेपालको संविधानमा दोस्रो पटक संशोधन गर्न छलफलका लागि डाकिएको व्यवस्थापिका–संसद्को आजको बैठक उक्त विषयमा प्रवेश नै नगरी तीन दिन पछि सारिएको छ ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न भन्दै बैठक वैशाख २१ गतेसम्म स्थगन गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १९ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । संसद्को आजको बैठक पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको थियो ।

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वैशाख १९ गते उत्सवका रुपमा उम्मेदवारी दर्ता गर्न बैठक सारिएको बताए ।वैशाख ३१ गते हुने निर्वाचनको तयारी गर्न सबै सांसदलाई जिल्ला पुग्ने वातावरण बनाउन बैठक सारिएको हो । त्यो सकेर मात्र संशोधन प्रस्तावका बारेमा वैशाख २१ गते छलफल हुन्छ ।

वैशाख ३१ गतेको निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै उनले भने – अब कसैमा पनि कुनै खालको द्विविधा पर्न र पार्न आवश्यक छैन । निर्वाचनमा मधेस केन्द्रित दलको सहभागिताका सम्बन्धमा सोधिएको जिज्ञासामा प्रधानमन्त्री दाहालले उनीहरु पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो । उम्मेदवारी दर्ता गरेर निर्वाचन सम्पन्न गर्ने विषयलाई सबैले प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको पनि उनले स्मरण गराए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै ‘वैशाख ३१ गतेको निर्वाचन भयो’ भनने । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने बताएर दलहरुबीच संविधान संशोधन प्रस्तावमाथि सहमति कायम गर्न संसद बैठक सारिएको खुलासा गररे ।

नेकपा एमाले का उपाध्यक्ष भीम रावलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी दिँदै संशोधन प्रस्ताव सरकारले फिर्ता लिनुपर्ने बताए । बजेट ल्याउनुपर्ने स्थिति पनि रहेकाले त्यस अघि नै निर्वाचन हुनुपर्ने उनको तर्क थियो ।

संसद् बैठकबाट बाहिरिने क्रममा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमाथि छलफल नगरी संसद् बैठक सारिएको विषयमा सङ्घीय गठबन्धनको बैठक बसेर निर्णय लिइने बताउए।

सरकारले पहिलो चरणको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा गर्ने तयारी गरेको छ । संसद्को अर्को बैठक यही वैशाख २१ गते अपराह्न ३ बजे बस्नेछ ।