राजनीति

पहिलो चरणको निर्वाचन सम्पन्न, ७१ प्रतिशत मत खसेको अनुमान



काठमाडौँ, ३१ वैशाख ।  निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए ।

आम मतदाताको ठूलो सहभागिता एवम् शान्तिपूर्ण र व्यवस्थितरुपमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे।

गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला, दलित, अल्पसङ्ख्यक समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोगले हर्ष प्रकट गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । मतदाता महानुभावले लोकतान्त्रिक अभ्यासमा देखाउनु भएको व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”