Banner News

सूर्यविनायकको प्रमुख, उपप्रमुखमा एमालेका उम्मेदवार विजयी



भक्तपुर, ७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा एमालेका वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी हुनुभएको छ ।

आज बिहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङले सार्वजनिक गरेको मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका थापाले १२ हजार ८८६ र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

नगरप्रमुखमा थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र उपप्रमुखमा काँग्रेसकै कल्पना राजथलाले आठ हजार ९०२ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका वडा नं १० को वडाध्यक्षमा एमालेका उम्मेदवार शिवराम राउत विजयी हुनुभएको छ । राउत एक हजार २० मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पाण्डव सुवालले ३९९ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी एमालेबाट उम्मेदवारी दिने महिला सदस्य गीता देउजा, दलित महिला सदस्य कमला सुनुवार, सदस्यहरुमा सुभद्रा खत्री र शिवहरि कार्की विजयी हुनुभएको छ ।

सूर्यविनायक नगरपालिकामा कुल १० वटा वडा रहेकामा सातवटा वडा एमालेले प्यानलसहित विजयी हासिल गरेको छ भने तीनवटा वडामा काँग्रेसले विजयी हासिल गरेको छ ।