काठमाडौं, १६ जेठ । नेकपा एमालेले लोकतन्त्रको चीरहरण गर्नेगरी माओवादीले भरतपुरमा गरेको मतपत्र च्यात्ने लज्जास्पद घटनाका अपराधीलाई कारवाही गर्दै मतगणना अघि बढाउन माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुको टोली भरतपुर घटनाका विषयमा ध्यानाकर्षण गर्न मंगलवार निर्वाचनको कार्यालय पुगेका थिए ।
प्रमुख आयुक्त अयोधीप्रसाद यादव सहित सबै निर्वाचन आयुक्तहरुसँग एमाले नेताहरुले भरतपुर घटनाका बारेमा ध्यानाकर्षण गराए । मतगणनामा एउटा पक्षले बदनियतपूर्वक मतपत्र च्यातेर निर्वाचन दोहोर्याउन गरेको प्रयासलाई पुरस्कृत नगर्न एमाले नेताहरुले आग्रह गरेका छन् । ‘निर्वाचन परिणाम आफू अनुकुल आएन भनेर पुन मतदान गराउन मतपत्र च्यात्ने अपराधीको माग पूरा गरेर पुरस्कृत गर्ने कि अपराधीलाई कारवाही गरेर मतगणना गर्ने, निर्वाचन आयोगले चयन गर्नु परेको छ’ प्रमुख निर्वाचन आयुक्तसँग एमाले नेताहरुको भनाई उद्धउत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘लोकतन्त्र मान्छु भनेर आइसकेपछि जनताको मतलाई अपमान गर्ने यस किसिमको लज्जास्पद घटना इतिहासमा नै पहिलो पटक भएको छ ।’
मतपत्र च्यातेर मतदान दोहोर्याउने अपराधीको योजनालाई पुरस्कृत गर्ने कि उनीहरुलाई दण्डित गरी निर्वाचनप्रतिको विश्वसनीयता बढाउने निर्वाचन आयोगकै हातमा रहेको एमाले नेताहरुले वताए । ‘उनीहरुले त जितिंदैन भनेर मतपत्र च्याते, अव मतदान होहोर्याउन माग गरेका छन्’ एमाले नेताहरुले प्रमुख आयुक्तसँग भने, ‘अव निर्वाचनको चीरहरण गरी हुर्मत लिनेलाई पुरस्कृत गर्नुहुन्छ कि लोकतन्त्र र निर्वाचनको गरिमालाई रक्षा गर्नुहुन्छ रु’
एमालेले प्रमुख निर्वाचन आयुक्त यादवसहित सबै आयुक्तहरुलाई भरतपुर गएर घटनास्थल हेर्न र मतगणना आफैं सुरु गर्न ध्यानाकर्षण गराएका छन् । ‘तपाईंहरु आफैं गएर हेर्नुस् निर्वाचन प्रक्रियाको कसरी खिल्ली उडाइएको छ’ एमाले नेताहरुले भने, ‘अर्को चरणमा हुने चुनाव र भविश्यमा हुने चुनावमा पनि यसैगरी नतिजा आफ्नो पक्षमा नआए मतपत्र च्यातेर मतदान गराउने घटनाका लागि नजिर नबनाइदिनुस् । निर्वाचन प्रक्रिया र लोकतन्त्रको चीरहरण हुनबाट बचाइदिनुस् ।’
मतपत्र च्यात्नेको नियत बुझिएको र मतपत्र किन च्यातिएको भन्ने थाहा भइसकेपछि त्यसलाई आधार बनाएर निर्वाचन आयोग अघि बढ्नु पर्ने, आयोग सरकारले गरेको आचार संहिता उल्लंघनका सामु निरिह हुन नहुने एमाले नेताहरुले ध्यानाकर्षण गराएका थिए । प्रमुख निर्वाचन आयुक्त यादवले भने आफूहरुले भरतपुरको घटनालाई गम्भीरतापूर्वक लिएको र अव घटनास्थलमै गएर अध्ययन गर्ने वताए ।
एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, संसदीय दलका उपनेता नेम्वाङ, सचिव प्रदीप ज्ञवाली लगायत नेताहरु आयोग कार्यालय पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्