Banner News

महाअभियोग दर्तासंगै मुलुकको राजिनीति नयाँ मोडमाः प्रधानमन्त्री दाहालले अब के गर्लान ?



काठमाडौं, १८ बैशाख । एकाएक प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि मुलुकको राजनीतिले अर्को मोड समाएको छ । स्थानीय निर्वाचनमा संशय पैदा भएको छ भने अब मुलुकको राजनीति कसरी अघि बढ्ने हो भन्ने विषयमा विभिन्त्र अड्कल हुन थालेका छन् ।

यसबीच दाहालले आफूले अव चाल्ने कदमबारे छलफल र परामर्श लाई तीव्र पारेका छन् ।

महाभियोग दुर्भाग्यपूर्ण भएको भन्दै अध्यक्ष थापाले सरकार छोड्ने जानकारी गराएपछि दाहाल सरकार अल्पमतमा पर्ने सम्भावना बढेको छ । किनभने हिजो नै कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजीनामा दिइसकेका छन् ।

नयाँ परिस्थितिबारे छलफल गर्न दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट विभिन्न नेताहरुसँग राती अवेरसम्म छुट्टा छुट्टै बैठक गरेका थिए । दाहाललाई भेट्न र सुझाव दिन वालुवाटारमा पुग्नेमा वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, महान्याधीवक्ता रमण श्रेष्ठ र माओवादी सांसद रामनारायण बिंडारी लगायत थिए ।

ती विभिन्न भेटमा महाभियोग प्रकरणले पार्टी थप कमजोर भएको अवस्थामा स्थानीय चुनाव के गर्ने, कांग्रेस सांसदहरुले नागरिक दवावका सामु महाभियोगबाट हस्ताक्षर फिर्ता लिने क्रम सुरु भएकाले अव यसलाई कसरी जनतासामु प्रस्तुत गर्ने, गृहमन्त्रीको राजीनामाले चुनावमा पर्ने असर लगायतका विषयमा चर्चा भएको वताइएको छ ।