राजनीति

सहमतिको आधारमा संविधान संशोधन प्रस्ताव पारित हुनुपर्छ



काठमाडौँ, २० वैशाख । विभिन्न राजनीतिक दलका नेताले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने सुझाव दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेताहरुले संविधान संशोधन प्रस्तावको पारितसँगै निर्वाचनमा जानुपर्ने धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई पारित गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले भने सरकारले वैशाख १७ गतेभित्रै संशोधन प्रस्ताव पारित गर्छु भनेको थियो, तर त्यो दिनमा हुन सकेन, आगामी बैठकमा पास गर्ने गरी सरकार प्रस्तुत हुनुपर्छ ।

राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले सरकारबाट बाहिरिए पनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने बताए । उनले भने, मुलुकलाई निकास दिन ल्याइएको संशोधन प्रस्तावको पक्षमा हामीले भोट हाल्ने निर्णय गरेका छौँ ।

गिरीले सरकारका प्रमुख घटक नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुअघि आफ्नो पार्टीसँग कुनै छलफल तथा सल्लाह नै नगरेको गुनासो पोखे ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिले संविधान संशोधनभन्दा पनि स्थानीय तहको निर्वाचनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले भने, सुदृढ सङ्गठन, बलियो जनाधार र एकताबद्ध नेतृत्वका कारण यो चुनाव एमालेले जित्ने बलियो आधार छ । उनले स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशतभन्दा बढी स्थान जित्ने दाबी गरे ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरे । उनले भने, मधेसको मुद्दा सम्बोधन गरेर जानुपर्छ । संशोधन प्रस्ताव पारित हुन्छ, सरकार संविधान संशोधन प्रस्ताव पारित गर्न लागिपर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले स्थानीय तहको निर्वाचन गराउन यो सरकार भरमग्दुर रुपमा लागेको बताउनुभयो । उनले भने निर्वाचन हुँदैन कि भन्ने आशङ्का जनतामा थियो । हिजोको मनोनयन दर्तासँगै त्यो जिज्ञासा मेटिएको छ ।

खनालले सरकारले परिमार्जनसहित संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमतिमा नै पारित गराउन गृहकार्य गरिरहेको बताए ।