काठमाडौं, २४ वैशाख । कागेश्वरी मनोहरा नगरपालिकामा एमालेका तर्फबाट मेयरमा कृष्णहरि थापाले उम्मेदवार दिएका छन् । थापाले आफ्नो चुनावी प्रतिबद्वता सार्वजनिक गरेका छन् । उनले आफुलाई निर्वाचीत गराएको खण्डमा स्वच्छ सफा हराभरा नगर बनाउने संकल्प गरेका छन् ।
‘स्वच्छ, सफा हराभरा, कागेश्वरी मनोहरा भन्ने मुल नाराका साथ निर्वाचनमा होमिएका थापाले शालीनदीको ऐतिहासिक पक्ष जोडिएको शंखरापुर नगर र कागेश्वरीदेखि विश्वसम्पदा सूचीको पशुपतिनाथ मन्दिरसम्म सीमा जोडिएको कागेश्वरी–मनोहराको ऐतिहासिक र सांस्कृतिक पक्षलाई संवद्र्धन गर्दै समृद्ध नगर बनाउने योजना ल्याएका छन् ।
‘विजयी भएपछि हामी आन्तरिक एकता बलियो र सुदृढ बनाउँदै सक्रियताका साथ चुनावी अभियानमा अघि बढेका छौं,’ थापाले भने, ‘एमालेले कागेश्वरीको विकासमा गर्दै आएको अगुवाइ नै जित सुनिश्चितको पहिलो आधार हो, विजयी बनेर समृद्ध नगर बनाउने योजना साकार पार्नेछु ।’
कागेश्वरीको पहिचान उजागर गर्दै समृद्ध बनाउने योजनासहित थापाले गागलफेदीबाट चुनावी घरदैलो र प्रचार अभियान सुरु गरेका छन् । २०५४ सालको स्थानीय निर्वाचनमा गोठाटारको गाविस अध्यक्ष निर्वाचित थापाले कागेश्वरी मनोहरा नगरलाई समृद्ध बनाउन दर्जन बढी प्रतिबद्धता जनाएका छन् ।
उनले कागेश्वरीमा एमालेले सन्तुलित विकासको नीति अघि सारेका छन् । भूकम्पको जोखिमरहित भवन निर्माण, सरकारी जग्गाको समुचित व्यवस्थापन र उपयोग, सडक, पूर्वाधार विकास, ढल निकास र खानेपानी व्यवस्थापन, भ्रष्टाचारमुक्त सुशासन, सामुदायिक क्याम्पस र सरकारी विद्यालयहरूको स्तरोन्नति र गुणस्तर अभिवृद्धि, ऐतिहासिक सम्पदा र संस्कृतिको संरक्षण तथा संवद्र्धन, स्वास्थ्य, सुरक्षालगायतका विषयलाई उनले प्रमुख स्थान दिएका छन् । तुल्सी गान्धी क्याम्पस, कान्तिपुर र सहिद आदर्श क्याम्पसमा एमएसी तहसम्म विज्ञान र इन्जिनियरिङ अध्यापन गराउने योजना प्रतिबद्धतापत्रमा उल्लेख छ ।
एक वडा एक पार्कको स्थापना, वृद्ध, अपांग, एकल महिलाहरूलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण, पशुपतिनाथदेखि कागेश्वरी महादेव मन्दिरसम्म परिपथ निर्माण, स्थानीय सडक र ढल निर्माणमा जनतासँग साझेदारी, कागेश्वरी चक्रपथ मार्गको स्तरोन्नति, नगर बस सञ्चालन, प्रत्येक वडामा नगर स्वास्थ्य क्लिनिक, प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै ५० शैयासम्मको अस्पताल सञ्चालन गर्ने उनले घोषणा गरेका छन् ।
सूचना प्रविधिमा आधारित सेवा प्रणाली, एकीकृत जग्गा विकासको व्यवस्थित योजनालगायतका विषय पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । पार्टी केन्द्रीय सहकारी विभागका सदस्य, एमाले जिल्ला कमिटी काठमाडौंका सदस्य, पूर्वगाविस अध्यक्षसमेत रहेका थापा सन्तुलित र कुशल संगठकका रूपमा परिचित छन् ।
प्रतिक्रिया दिनुहोस्