काठमाडौं, २६ वैशाख । सरकारी छाप दस्तख्त किर्ते गरेरै डिआईजी प्रकाश अर्याललाई महानिरीक्षकको फूली लगाईदिने मुख्य योजनाकार गृहसचिव लोकदर्शन रेग्मी घटनाक्रम प्रतिकूल हुने संकेतपछि अत्तालिएका छन् ।
गृहसचिव रेग्मी आफुमाथि आईपरेको संकट टारिदिन काठमाडौं उपत्यकामा रहेका शक्तिपीठ धाउन थालेको जनप्रहारले पत्ता लगाएको छ । ग्रहदशा बिग्रिएको र ठूलो संकट पर्ने ज्योतिषको भविष्यवाणी र सर्वोच्चमा प्रधानन्यायाधीश सुशिला कार्कीको पुनरागमनपछि अत्तालिएका गृहसचिव रेग्मी शनिबार मध्यान्ह दक्षिणकाली पुगेका थिए ।
स्रोतका अनुसार एक्लै दक्षिणकाली पुगेका रेग्मीलाई स्थानीय प्रहरीले सुरक्षा दिएको थियो । दक्षिणकालीमा हुने मध्यान्हको नियमित पुजापछि पहिलो दर्शनधारी बनेका गृहसचिव रेग्मीले मन्दिरका पुजारीसँगै बिशेष पूजा अर्चना गरेका थिए । स्रोतका अनुसार हतास र निराश देखिएका रेग्मीले कसैसँग केही नबोली पूजा सकेर फर्किएका थिए ।
सरकारले डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णयविरूद्ध सर्वोच्च गएका डिआईजी नवराज सिलवालको आदेशमा स्पष्टसँग उल्लेख भएका विवरणलाई आफु अनुकुल व्याख्या र सरकारी गोप्य कागजपत्र समेत किर्ते गर्नेमा गृहसचिव रेग्मी मुख्य योजनाकार बनेको स्रोतले दाबी गर्दै आएको छ ।
सर्वोच्चको चैत्र ८ को आदेशपछि २० दिनसम्म चुपचाप बसेको मन्त्रिपरिषद्ले महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठको संयोजकत्वमा चैत्र २८ गते गृहसचिव रेग्मी सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, कानून सचिव कमलशाली घिमिरे र एआईजी दिनेशचन्द्र पोखरेल सदस्य रहेको समिति गठन गरेको थियो ।
सोही समितिले डिआईजी अर्यालले बढि अंक ल्याएको प्रतिवेदन सरकारलाई दिएपछि मन्त्रिपरिषदले सोही दिन मध्यरातमा डिआईजी अर्याललाई महानिरीक्षक बनाएको थियो ।
किर्तेका मतियारलाई सरकारको उपहार
सरकारले महानिरीक्षक नियुक्तीमा गरेको भूल सुधार गरेको सर्वोच्च अदालतले मुख्य निर्णय सुनाउनु अघि आदेश गर्दै लोकसेवा आयोग, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट २४ घण्टामा कार्य सम्पादन मुल्यांकन फाईल मगाएर अध्ययन गरेको थियो ।
चैत्र ८ को अदालतको आदेश सबै सरकारी दस्तावेजको अध्ययनपछि सुनाईएको थियो । आदेशको पूर्णपाठमा स्पष्ट शब्दमा डिआईजी सिलवालको अंक बढि रहेको उल्लेख भएपनि सरकारले एकपछि अर्को भूल गर्दै गयो । जसको पछिल्लो परिणाम सरकार मुख देखाउन लजाउनुपर्ने अवस्था सृजना भएको छ ।
तर सरकारलाई किर्ते गरेर बनाएका आईजी अर्यालले सिलवाल ठिक पार्छन् भन्ने योजनामा भुलाउने मुख्य मतियार भने एकपछि अर्को उपहारबाट पुरस्कृत भै रहेका छन । सरकारलाई आईजिपी नियुक्तीमा सहयोग गरेका विवादित सचिव टंकमणि शर्मा महालेखापरिक्षकमा सिफारिस भएका छन् ।
यस्तै सरकारले कानून सचिव कमलशालीलाई उधारोमा आयोग वा अदालतको पुरस्कार दिएको छ । यस्तै एआईजी दिनेशचन्द्र पोखरेललाई प्रहरीको मेडिकल कलेज र अवस्था हेरेर उनको निजी स्वास्थ्य संस्थालाई सम्बन्धन दिने पुरस्कार बाँडिएको हो ।
किर्तेपछिको ताण्डव
सरकारले अंक थपघटको आरोप लगाएर धरपकडमा उत्रिएपछि अस्वस्थ्य रहेका डिआईजी सिलवाल अस्पताल भर्ना हुन पुगे । बहालवाला डिआईजीलाई पक्राउ गर्न एकाबिहानै सशस्त्र गणका एसपी पठाउनेदेखि मुद्दा चलाउने तयारीसम्मको ताण्डव गरेको सरकारले अन्त्यमा नसकेपछि प्रधानन्यायाधीश कार्कीलाई महाभियोगसम्मको अन्तिम अस्त्र प्रयोग गरेको थियो ।
सरकारको अन्तिम अस्त्रको प्रभाव उल्टो र प्रतिकूल सिद्ध भएपछि अन्यौलमा रहेको सरकार अब बैशाख २८ मा आउनसक्ने सर्वोच्चको अर्को फैसालाको कारण अत्तालिएको छ । जनप्रहार साप्ताहिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्