सम्पादकीय

डलर तस्करीमा चिनियाँँ सक्रिय



काठमाडौं, २८ बैशाख । विदेशी मुद्रा तस्करीमा चिनियाँँ नागरिकको संलग्नता बढेको छ । पछिल्लो १ वर्षको अवधिमा मात्रै प्रहरीले २० जना चिनियाँ गिरोहलाई करोडौं रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको छ ।

बुधबार मात्रै महानगरीय प्रहरी अपराध महाशाखाले रसुवागढी–केरुङ हुँदै तिब्बततर्फ जान लागेका ६ जना चिनियाँ नागरिकलाई करिब ५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रासहित नागढुंगाबाट पक्राउ गरेको हो ।

तस्करीमा संलग्न भनिएका २५ जना चिनियाँलाई एकैपटक नियन्त्रणमा लिइए पनि बाँकी १९ जना भने नेपालस्थित चिनियाँ दूतावासका अधिकारीको रोहबरमा छुटेका छन् ।

२ वटा जीप रिजर्भ गरेर जान लागेका चिनियाँलाई नियन्त्रणमा लिँदा तस्करीको डलर बरामद भएको महाशाखाले जनाएको छ । करिब ५ करोड रुपैयाँका विदेशी मुद्रा काठमाडौंका विभिन्न स्थानबाट संकलन गरिएको पाइएको छ । यससहित १ वर्षमा २० करोड रुपैयाँ भन्दा बढीको मुद्रा प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार बुधबार तस्करीको मुद्रासहित पक्राउ पर्नेहरूमा ५० वर्षीय सि सिउन, ४४ वर्षीय लिउ सियाओन, ४७ वर्षीय झाओ जियान, ४७ वर्षीय काङ युनसियाङ, ४४ वर्षीय याओ जियानवान र ३० वर्षीया लिङ सुयान रहेका छन् । प्रहरीले अभियुक्तले प्रयोग गरेका ग १ ञ ८५० र ग १ ञ ८५५ नम्बरका २ वटा स्कर्पियो जीप समेत नियन्त्रणमा लिएको छ ।

“तीनवटा जीपमा सवार २५ जनालाई नियन्त्रणमा लिइएकोमा ६ जना मात्रै तस्करीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” एसपी कार्कीले भने, “बाँकीलाई चिनियाँ राजदूतावासका अधिकारीको रोहबरमा छाडिएको छ ।” हाल काठमाडौं प्रहरीको हिरासतमा रहेका अभियुक्तमाथि भाषा समस्याले अनुसन्धान प्रभावित बनेको प्रहरीले जनाएको छ ।

केरुङ नाकाबाट चीनतर्फ जाँदै गरेका उनीहरू डलर तस्करीकै लागि काठमाडौं आएको हुनसक्ने एसपी कार्कीले बताए । यसअघि गत माघमा पनि रसुवागढी–केरुङ हुँदै चीन लैजान लागिएको ७ करोड रुपैयाँको अवैध सुन र ५ करोड रुपैयाँ बराबरका विदेशी मुद्र सहित ३ चिनियाँ र १ नेपाली पक्राउ परेका थिए ।

महाशाखाको टोलीले रसुवागढी–केरुङ हुँदै चीन जान लागेका ३ चिनियाँ नागरिक चाङतोङ फाङ, चौ सुसलयन, चाउ लियाङ फाङ र रसुवाका पेम्बा तामाङलाई नागढुंगाबाट पर्यटक गाडी सहित पक्राउ गरेको थियो । “४ महिनाको अवधिमा करिव १२ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा चिनियाँ गिरोह पक्राउ पर्नुले नेपालमा डलर र सुन तस्करको सक्रियता बढेको देखिन्छ,” एसपी कार्कीले भने, “यसले तस्करविरुद्ध थप सशक्त कदम चाल्नुपर्ने चुनौती समेत देखा परेको छ ।कारोबारमा समाचार छ ।