काठमाडौ, २८ वैशाख । जुँगु सदरमुकाम चरिकोटदेखि ५८ किलोमिटर पूर्वको गाउँ हो । माओवादी नेता एवं पूर्व सांसद देवी खड्का, जिल्ला अध्यक्ष विशाल खड्का र पोलिट्ब्युरो सदस्य गंगा कार्कीको राजनीतिक पृष्ठभूमि यही गाउँसँग जोडिन्छ ।
जनयुद्ध कालमा सेनाले मारेका ऋतबहादुर खड्काको यो गाउँलाई माओवादीले ‘शहीदको रगत सिञ्चेको’ भनेर टिप्पणी गर्ने गर्छ । कांग्रेस—एमालेले बुथ कब्जाको आरोप लगाए पनि संविधान सभाका दुवै निर्वाचनमा माओवादीले यो गाउँबाट बहुमत पाएको थियो ।
राज्य पुनःसंरचना हुँदा जुँगु गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्यो । यो गाउँपालिका माओवादी मात्र नभई एमालेका नेताहरुको राजनीतिक आधार क्षेत्र पनि हो । एमाले सांसद पार्वत गुरुङ यहीँका हुन् । माओवादीसँग जिल्लामा तालमेल गरेको कांग्रेसका दोलखा जिल्ला सभापति रुद्रबहादुर खड्का पनि यही गाउँपालिकाबासी हुन् ।
गाउँपालिकामा मर्ज भएका सात गाविसमध्ये अघिल्लो संविधानसभा निर्वाचनमा गौरीशंकर, खारे र झ्याकुमा कांग्रेसले सबैभन्दा बढी मत पाएको थियो । मार्बु, चंखु र सुरीमा एमाले पहिलो भएको थियो भने जुँगुमा माओवादीले सबैभन्दा बढी मत पाएको थियो।
वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि गौरीशंकर गाउँपालिका प्रमुखमा माओवादीका निमा लामा उम्मेदवार तोकेको छ । उपप्रमुखमा कांग्रेसका कमल विक्रम खड्का उम्मेदवार छन्। एमाले एक्लै चुनाबमा होमियो।
एमालेभित्र जिल्लाभरिका स्थानीय तह उम्मेदवारमा चर्को विवाद देखिए पनि यो गाउँपालिकाबाट सर्वसम्मत उम्मेदवारी चयन भएको थियो । माओवादीसँग झडप हुँदा मारिएका कुलबहादुर तामाङ, ३३ यसअघि वाइसिएलका कार्यकता थिए । चैत २५ गते उनी एमाले प्रवेश गरेका थिए ।
कुलबहादुरका पिता गोरे तामाङलाई एमालेले वडा सदस्यको उम्मेदवार बनाएपछि उनी बुवाको चुनाबी अभियानमा होमिएका थिए । अप्रत्यासित घटनापटि जुँगु गाउँ शोकमा छ । गाउँलेहरु त्रसित छन् । चुनाब हुन्छ कि हुँदैन भन्ने संशय छ । मृतक कुलबहादुरको परिवार रेशम डाँडामा बसिरहेका छन् ।
मंगलबार राति भएको घटनाको पृष्ठभूमि केलाउँदा सोमबारको एमाले सभासम्लाई समेत बिर्सन हुँदैन । सोमबार एमालेले केन्द्रीय नेताहरुको उपस्थितिमा जुँगुमा चुनाबी सभा गरेको थियो । सभामा एमाले सांसद सांसद गुरुङ, आनन्द पोखरेलले सम्बोधन गरे।
सभालाई सम्बोधन गर्दै सांसद गुरुङले माओवादीको दादागिरी तोड्ने र बुथ कब्जा हुन नदिन चुनाबको दिन हेलिकोप्टर लिएर आउने बताएका थिए । एमाले नेताको चेतावनीले माओवादी कार्यकर्ता आक्रोशित थिए । उनीहरु ‘यो ऋतबहादुर खड्काको रगत बगेको ठाउँ हो, यसमा एमालेलाई जवाफ दिन्छौं’, भन्दै हिँड्न थालेका थिए ।
दुवै दलले आफ्नो प्रतिष्ठासँग जोडेर चुनाबी अभियान चलाइरहेका बेला मंगलबार रेशम डाँडास्थित लक्ष्मण जिरेलको होटलमा जुँगु हुप्पा गाउँबाट कुलबहादुरसहित मोटरसाइकलमा झरेका थिए । उनीहरुले खाना अर्डर गरे । जिरेल होटल निलकण्ठेश्वर उच्च मावि जुँगुको सडक छेउमै पर्छ । उनीहरुले मोटरसाइकल होटल अगाडिको बाटोमा राखेर खान खाइरहेका थिए ।
त्यही बेला कसेरीतिरबाट एक हुल माओवादी कार्यकर्ता मिनीट्रक चढेर होटल हुँदै उकालो लाग्न आइपुग्यो । उनीहरु वडा नम्बर १ का माओवादीका अध्यक्ष उम्मेदवार बसन्त कार्कीको घरतर्फ जाँदै थिए । त्यहाँ माओवादी केन्द्रकी पूर्व सांसद देवी खड्का बसेकी थिइन् । मोटरसाइकलले राखेका कारण मिनी ट्रक अघि बढ्न सकेन ।
बाटो नपुगेपछि माओवादी कार्यकर्ताले मोटरसाइकल हटाउन आग्रह गरे । लक्ष्मणको होटलमा खाना खाइरहेका कुलबहादुर तामाङ लगायत सडकमा आए । दुवै पक्षबीच भनाभन भयो । सामान्य विषयले विवादको रुप लियो, झडपको रुप लियो।
घटना भएको थाहा पाउना साथ माओवादी केन्द्रका २ नम्बर वडाका अध्यक्ष उम्मेदवार भरत खड्काले एमाले निकट शिक्षक दिलबहादुर बुढाथोकीलाई फोन सम्पर्क गरे । तपाइँका कार्यकर्ताले हाम्रा कार्यकर्तामाथि आक्रमण गरिरहेका छन् ।
बियरको बोतलले हानिरहेका छन् सम्झाइदिनोस् भने । अन्यथा स्थिति असामान्य होला जस्तो छ हामी जिम्मा लिन सक्दैनौं भन्ने सूचना दिए। घटनाको जानकारी पाएका दिलबहादुर बुढाथोकी आफ्ना ज्वाइँ छत्र कार्कीसँगै झडपस्थलतर्फ उकालो लागे । उनीहरु घटनास्थल पुग्दासम्म दुवै पक्ष भिडिरहेका थिए। एमाले कार्यकर्ताले फायरिङ भएको दाबी गरेका छन् ।
निलकण्ठेश्वर उच्च मावि नजिक पुगेका बुढाथोकीलाई पनि माओवादी कार्यकर्ताले आक्रमण गरे । राति ११ बजे इलाका प्रहरी कार्यालय मैनापोखरीबाट प्रहरी निरीक्षक नवराज न्यौपाने नेतृत्वको प्रहरी टोली घटनास्थल आइपुग्यो। त्यहीँबाट एमाले कार्यकर्ता र प्रहरी टोलीले दिलबहादुर बुढाथोकीलाई बेहोस अवस्थामा उद्धार गर्यो ।
उनको शरीर रक्ताम्य थियो। कुलबहादुर तामाङको खोजी भयो । बुढाथोकी बेहोस भएको नजिकै उनी भेटिए । उनको पनि शरीर रगतमा लतपतिएको अवस्थामा थियो । घाइतेहरुलाई प्रहरी टोलीले सदरमुकाम पर्यायो। चरिकोट अस्पताल भर्ना गरिएका कुलबहादुरको उपचारको क्रममा मृत्यु भयो ।
बुढाथोकीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । अप्रत्यासित घटनापटि जुँगु गाउँ शोकमा छ । अब के हुने हो भनेर गाउँलेहरु त्रसित छन्। चुनाब हुन्छ कि हुँदैन भन्ने संशय छ । मृतक कुलबहादुरको प रिवार रेशम डाँडामा बसिरहेका छन् । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्