
काठमाडौं, २० जेठ । प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपालको समर्थन पाएका उनले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन छलफल गरिरहेका छन् ।
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार पार्टी मुख्यालयमा बसेको बैठकले सत्ता समीकरणका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
सभापति देउवाले सत्तासमीकरण बलियो बनाउन पार्टीका तर्फबाट नेताहरू विमलेन्द्र निधि र रमेश लेखकलाई खटाएका छन् । राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्तासहितका विषयमा प्रतिबद्धता आएपछि देउवालाई समर्थन गर्ने संकेत दिएको छ ।
कांग्रेसले आज सहयोगको अपिल गर्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्रीमा पार्टी सभापति देउवालाई सहयोग गर्न अन्य दललाई अपिल गर्ने भएको छ । २९ सदस्यीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । संसदमा रहेका दलहरुलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह औपचारिक आग्रह गरिने केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए ।
उनले भने, ‘बहुमतको लागि पहिलेकै गठबन्धन छ । अझै थप दलहरुलाई पनि सरकारमा सहयोग गर्न शनिबार औपचारिक आह्वान गर्छौं ।’ संसदमा रहेका दलहरुलाई पत्रमार्फत् तथा एमालेसहितका दलका नेतालाई भेटेरै पनि सहयोगको आग्रह गरिने उनको भनाइ छ । प्रधानमन्त्रीका लागि शनिबार ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।
दुई तिहाइ पुर्याउने प्रयास
प्रधानमन्त्री भएपछिका चुनौतीको समाधानका लागि पनि सत्ता गठबन्धनमा धेरै दल समेट्ने तयारीमा कांग्रेस छ । ‘धेरै राजनीतिक मुद्दा किनारा लगाउँदै संविधान कार्यान्वयन गर्नुपर्ने अवस्था छ,’ कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘चुनौतीको सामना गर्न पनि हामी सरकारमै दुई तिहाई पुर्याउन प्रयासरत छौं ।
’ दोस्रो चरणको स्थानीय निर्वाचन, संविधान संसोधन, स्थानीय तहको संख्या थप्ने निर्णय, प्रदेशको सीमाकंन, प्रदेश र संसदको निर्वाचन ७ माघसम्म सक्नुपर्ने चुनौती नयाँ सरकारसँग छ ।
औपचारिक आग्रहको प्रतिक्षामा राप्रपा
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएर बाहिरिएको राप्रपा नयाँ सत्ता गठबन्धनप्रति सकारात्मक छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावपछि मात्र टुंगोमा पुगिने राप्रपाका नेता मोहन श्रेष्ठले बताए । राप्रपामा सरकारमा सहभागी हुनुपर्ने दबाब छ ।
निर्वाचनको दिन पनि अवरोध भए के हुन्छ ?
सकेसम्म सहमति : संसद्मा अवरोध कायमै रहे निर्वाचन प्रक्रिया सकेसम्म दलहरूबीचको सहमतिमै अघि बढाउने सभामुखको तयारी छ । सहमति जुट्ने उनको विश्वास छ ।
अवरोधकै बीच प्रक्रिया : दलहरूबीच सहमति नजुटे संसद् नियमावली र संविधानलाई आधार मानेर संसद्मा प्रक्रिया अगाडि बढाउने सभामुखसँग दोस्रो विकल्प छ । नयाँ पत्रिकामा
समाचार छ ।










प्रतिक्रिया दिनुहोस्