Banner News

गृहमन्त्री जनार्दन शर्मा द्दवारा पद बहाली



काठमाडौँ, २४ जेठ । गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताउनुभएको छ ।

आज गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भन्नुभयो – तपाईंहरुको इमान्दारितालाई सम्पूर्णरुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई राजनीतिक उद्देश्यका लागि चलखेल गर्ने, सरकारको नीति र योजना कार्यान्वयनमा भेदभाव गर्ने र अनुशासन तोड्ने कार्यमा छुट दिने छैन ।

उहाँले सुरक्षा निकायको चेन अफ कमाण्डमा कडाइ गरिने तथा प्रचारबाजी गर्ने, वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने जस्ता प्रवत्तिको अन्त्य गरिने प्रष्ट पार्नुभयो ।

गृहमन्त्री शर्माले भन्नुभयो, जनताले चाहेजस्तो नेपाल प्रहरी हुनेछ । जनताले चाहे जस्तो सशस्त्र प्रहरी बल हुनेछ । देशले चाहेजस्तो अनुसन्धान विभाग हुनेछ । देशको संवेदनशील विषय हेर्ने अनुसन्धान विभागलाई आवश्यक पुनःसंरचना गरिनेछ ।

मूल्याङ्कनको माध्यम परिवर्तन गरी जनता र सिपाहीबाट गरिएको मूल्याङ्कनलाई सही मूल्याङ्कन मानिने उहाँले जानकारी दिनुभयो । मन्त्रालय र यसअन्तर्गतका निकायको परिवर्तन र सुधारको सम्बन्धमा केही दिनमै योजना सार्वजनिक गरिने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले पहिलो निर्णयको रुपमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षानिकाय र समस्त कर्मचारीलाई निर्देशन दिनुभयो ।