Banner News

मालदार मन्त्रालय नपाए देउवा सरकारमा सहभागी नहुने पौडेलको अडान



काठमाण्डौ, २६ जेठ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भागबण्डा नमिलेमा सहभागी नहुने भएको छ ।

बुधबार प्रधानमन्त्री देउवाको शपथग्रहण वहिष्कार गर्ने निर्णयमा पुगेको पौडेल पक्ष देउवाले आफै फोन गरी भागबण्डा मिलाउछु, शपथमा आईदिनुपर्यो भनेपछि अन्तिममा पौडेल शपथमा सहभागी भएका थिए ।

आफ्नो शपथसँगै सानो आकारको मन्त्रीपरिषद गठनको तयारी गरेर पौडेललाई एक जनाको नाम दिन देउवाले आग्रह गरेका थिए । तर, पौडेलले पहिलो चरणमा उपप्रधानमन्त्रीसहित दुई जनालाई मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेको तर देउवाले ठाडैं उपप्रधानमन्त्री दिन नसक्ने जवाफ दिएको पौडेल पक्षका नेता आनन्दप्रसाद ढुंगानाले शुक्रबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा जानकारी गराए । उनका अनुसार, देउवाले एक जनालाई मात्र शपथ खुवाउने बताएका थिए । त्यसपछि पौडेल पक्ष सम्मानजनक भागबण्डा नभए सरकारमा सहभागी नहुने निर्णयमा पुगेको हो ।
पौडेल पक्षले चालिस प्रतिशत माग गरेको छ । कांग्रेस र माओबादीबीच ११ र ९ मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको छ । यस अनुसार पौडेलपक्षले उपप्रधानमन्त्रीसहित पाँच मन्त्रालय मागेको छ तर प्रधानमन्त्री देउवा पौडेललाई त्यति दिने पक्षमा नरहेको स्रोतको भनाई छ ।

मन्त्रीपरिषद गठन गर्दा आफुले मागे अनुसार सुरुमा दुई जनाको नाम देउवाले स्वीकारेको भए पौडेल पक्षले महेश आचार्यलाई अर्थमन्त्री बनाउने गरी नाम पठाउने तयारी गरेका थिए । पौडेलले अर्थमन्त्री आफ्ना पक्षबाट बनाउन अड्डी लिने बुझेपछि नै अर्थ मन्त्रालयमा आफ्ना नजिकका ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाएका हुन् । पौडेल पक्ष सरकारमा सहभागी भईहाले पनि देउवा अर्थ मन्त्रालय र अन्य मालदार मन्त्रालयमा पौडेल पक्षकालाई नदिने तयारीमा छन् ।