राजनीति

इलाम,काँग्रेसमा क्षेत्रीय समितिका पन्ध्रजनाले गरे राजीनामा



इलाम, २७ जेठ । इलामको सूर्योदय नगरपालिकाको प्रमुखका उम्मेदवारको नाम केन्द्रीय समितिले परिर्वतन गरेको भन्दै नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति दुर्गा बरालसहित १५ जनाले राजीनामा दिएका छन् ।

क्षेत्रीय कार्यसमितिका २० जनामध्ये १५ जना सदस्यले शुक्रबार राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा क्षेत्रीय सभापति दुर्गा बराल, उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बू, कोषाध्यक्ष पूर्ण मुखिया सदस्य मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, विमल प्रधान, ज्ञानु राई, अर्जुन पोखरेल, हीराबहादुर लाप्चा, हरि बुढाथोकी, राजु बम्जन र पुष्प कार्की रहेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति, इलामले सूर्योदय नगरपालिकाको प्रमुखमा क्षेत्रीय सभापति बरालको नाम सिफारिस गरी एक साताअघि केन्द्रीय समितिमा पठाएकोमा केन्द्रीय समितिले प्रमुखमा प्रेम चाम्लिङको नाम निर्णय गरेर पठाएपछि क्षेत्रीय समितिका सदस्यले राजीनामा दिएका हुन् । जिल्ला समितिले नाम केन्द्रमा पठाउनेबित्तिकै बराल चुनावी प्रचारप्रसारका लागि गाउँगाउँ पुग्न थाल्नुभएको थियो ।

जिल्लाले पठाएको नामावली केन्द्रले स्वीकृत नगरेसम्म क्षेत्रीय समितिले पार्टीको कुनै पनि गतिविधि नगर्ने बरालले बताए ।

काँग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यले भने क्षेत्र नं १ का क्षेत्रीय सभापतिसहितका पदाधिकारीले राजीनामा दिएकोबारे जिल्ला समितिमा कुनै जानकारी नआएको बताए ।