भक्तपुर, २७ जेठ । मध्यपुर थिमी नगरपालीका थिमी –३ मा रातारात अवैध रुपमा डोजर लगाएर हनुमन्ते खोलाको नियमित बहाव परिर्वतन गर्न थालिएको छ ।
भूमाफीयाले स्थानीय प्रशासनको सहयोगमा गरेको उक्त कार्य रोक्न मध्यपुर थिमी नगरपालिकाले कडा कदम चाल्ने भएको छ ।
उक्त चोरी पैठारी रोक्न स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै मध्यपुर थिमी नगरपालीकाका मेयर मदन सुन्दर श्रेष्ठ शनिबार विज्ञप्ति जारी गर्दै मध्यपुर थिमी नगरपालीका –३ र सूर्य बिनायक नगरपालिका–३ को सिमामा पर्ने हनुमन्ते खोला फर्काउन खोजेको प्रति आफु निकै गम्भिर भएको जनाएका छन् ।
गएराती ११ बजेदेखी बिहान चार बजेसम्म अनधिकृत रुपमा भू-माफिया र स्थानीय प्रशासनको मिलेमतोमा पाँच वटा डोजर चलाएको विज्ञप्तिमा उल्लेख छ । भूमाफीयाले गरेको काम प्रती स्थानीय प्रशासन र प्रहरीले सहयोग नगरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
यस अघि पनि अनधिकृत रुपमा खोलाको बाहब फर्काउन खोज्दा मध्यपुर थिमी नगरपालीका र तत्कालीन अनन्तलिङगेश्वर नगरपालिकाबीच २०७३ जेठ चार गते भएको समझदारी पत्रमा बिवादीत क्षेत्रमा दुवै नगरपालीकाको स्वीकृत बेगर जमिन कटाउन नपाउने सूचना समेत जारी गरिएको थियो ।











प्रतिक्रिया दिनुहोस्