शैक्षिक

बेनी अस्पतालमा पाठेघर बाहिरको गर्भको दुर्लभ शल्यक्रिया



ध्रुवसागर शर्मा 

म्याग्दी, २८ जेठ । म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ

मङ्गला गाउँपालिका बरञ्जाकी ३० वर्षीया एक युवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा घिरेन मल्लसहितको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेर बाहिर निकालेको हो ।

तीनवर्ष अगाडि विवाह गरेकी युवतीको पाठेघरभित्र रहेको गर्भ गत चैत ३० गते खेर गएपछि निराश भएर घरमै बसेको अवस्थामा तीनदिनदेखि लगातार दाहिने कोखो दुख्न थालेपछि बेनी अस्पतालमा भर्ना भएकी थिइन् ।

एपेन्डिक्स भएको अनुमान गरिएपनि भिडियो एक्स–रेको क्रममा पाठेघर बाहिर १३ हप्ताको गर्भ देखिएपछि तत्कालै चिकित्सकको टोली इमर्जेन्सी बैठक बसेर सफल शल्यक्रिया गर्न सफल भएको डा मल्लले बताउनुभयो । पाठेघर बाहिर नफुटेको अवस्थामा गर्भ भेटियो । यस्तो केस चिकित्सा क्षेत्रमै दुर्लभ मानिन्छ – डा मल्लले भने ।

तेह्र हप्तासम्म पाठेघर बाहिर बच्चा हुर्किरहेको अवस्थामा भेटिएको र शल्यक्रियाका क्रममा पनि बच्चाले केही समय खुट्टा चलाइरहेको थियो, डा मल्लले भने। पाठेघर बाहिर १३ हप्तासम्म जीवित अवस्थामा बच्चा भेटिने विश्वकै ३० हजार गर्भवती महिलामा एकजनामा हुने उनले जानकारी दिए ।

विश्वभरका अनुसन्धानअनुसार चिकित्सा क्षेत्रमा ठूला र दुर्लभ शल्यक्रियाभित्र पर्ने यस्तो शल्यक्रियामा सफलता प्राप्त गरेपछि बेनी अस्पतालका प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रोशन न्यौपानेले शल्यक्रियामा खटिएका टोलीलाई बधाई दिनुभएको छ । ठूला अस्पतालमा समेत यस्ता घटना भेटिँदैनन् – डा न्यौपानेले भने।