Banner News

पोखराका प्रमुखको घोषणा सम्मान कार्यक्रममा सहभागी नहुने



पोखरा, २८ जेठ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ ।

पोखरा–७ को एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरवासीको अन्तरआत्मादेखिकै सम्मानले आफू प्रमुखमा निर्वाचित भएको बताउनुभयो ।

तपाईंहरुले मत दिनु नै मेरा लागि सबैभन्दा ठूलो सम्मान हो, उहाँले भन्नुभयो – आगामी दिन सम्मान र बधाईको सट्टा समृद्ध महानगर बनाउने अठोटलाई साकार पार्न सबैले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

विभिन्न सङ्घसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदा जनताको कामसमेत प्रभावित भएको महसुस गरी आफूले यो घोषणा गरेको उहाँको भनाइ थियो ।

बधाई, शुभकामना, शुभेच्छाका साथै केही गुनासो भए राख्न दिउँसो ३ बजेपछि कार्यालयमै प्रमुखसँग भेट्ने व्यवस्था मिलाएको जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताउनुभयो ।