Banner News

शिक्षासेवी गौतम र अधिकारी अभिनन्दित



काठमाडौँ, २८ जेठ । दधिराम मरासिनी स्मृति प्रतिष्ठानले यस वर्ष शिक्षासेवी खेमराज गौतम र टेकराज अधिकारीलाई अभिनन्दन गरेको छ ।

संस्कृत साहित्यका विद्धान एवम् आध्यात्मिक चिन्तक महापण्डित मरासिनीको १३५औँ जन्मजयन्तीको अवसर पारेर यहाँ हिजो आयोजित कार्यक्रममा शिक्षाको माध्यमबाट समाजको विकासमा योगदान गरेबापत गौतम र अधिकारीलाई अभिनन्दन गरिएको हो । सोही कार्यक्रममा प्रशासक चूडामणि ज्ञवालीलाई समेत सम्मान गरिएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँहरुलाई अभिनन्दन गर्दै पूर्वीय दर्शन, साहित्य तथा जीवन पद्धति संस्कृत भाषामा रहेकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैदिक समाज तथा मानव सभ्यताका विभिन्न पक्ष संस्कृत भाषामा लेखिएका दर्शनमा पाइने बताए ।

पूर्वमन्त्री मोदनाथ प्रश्रितले समाजसेवी हरिहर गौतमले अर्घाखाँचीमा स्थापना गरेको हरिहर संस्कृत पाठशालामा मरासिनीले ज्ञानको ज्योति फैलाएर त्यस क्षेत्रमा प्राज्ञिक उन्नयन गरेको बताए।

नेपाली काँग्रेसका नेता तथा सांसद सञ्जय गौतमले समाजसेवी हरिहरको प्रायोजनमा अर्घाखाँचीमा स्थापना गरिएको पाठशालाले संस्कृत भाषाका साथै नेपाली साहित्यको विकासका क्षेत्रमा तथा मुलुकमा जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि पनि ठूलो योगदान गरेको विचार व्यक्त गरे ।

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय तथा प्राज्ञ दिनेशराज पन्तले लुम्बिनी अञ्चलको पश्चिमी क्षेत्रमा स्थापित सो संस्कृत पाठशालाले मुलुकमा ठूलाठूला नेता, प्रशासक उत्पादन गरेको बताए ।

प्रतिष्ठानका जन्मजयन्ती समारोह समितिका संयोजक प्रा माधवराज गौतमले पश्चिममा शिक्षाको ज्योति फैलाउन हरिहर र मरासिनीको योगदान अविस्मरणीय रहेको जानकारी दिँदै मुलुकमा शिक्षा तथा संस्कृतिको खोज र अनुसन्धानमा योगदान गर्ने स्रष्टा तथा शिक्षासेवीलाई सम्मान गर्ने नीति रहेको बताए ।